१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरहामा निर्वाचनको तयारी अन्तिम चरणमा



लहान । सिरहा जिल्लामा आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय, सिरहाले जनाएको छ ।

स्थानीय तहको निर्वाचनका लागि मतपत्र, स्वस्तिक छाप, मतपेटिका, मतदाता परिचयपत्र, मतदाता नामावलीलगायतका सम्पूर्ण सामग्री जिल्ला आइपुगेको र त्यसलाई प्याकिङ गर्ने कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालय, सिरहाका प्रमुख ईन्द्रा यादवले जानकारी दिए ।

मतदान अधिकृतहरुलाई दिनुपर्ने सम्पूर्ण सामग्री प्याकिङ भइरहेको छ, कार्यालय प्रमुख यादवले भने– “सामग्री प्याकिङ भएलगत्तै मतदान केन्द्रमा पठाइनेछ ।”

यस्तै निर्वाचनमा मतपत्र बढी बदर हुन नदिन जिल्लाका सबै मतदान केन्द्रका लागि एक एक जनाका दरले ४२६ मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिएको जिल्ला निर्वाचन कार्यालय, सिरहाले जनाएको छ ।

मतदान केन्द्रमा खटिएका मतदाता शिक्षा कार्यकर्ताले मतदातालाई स्थानीय तह निर्वाचनको महत्व, मतपत्रमा स्वस्तिक छाप लगाउने तरिका, स्वस्तिक छाप लगाइसकेपछि मतपत्र पट्याएर मतपेटिकामा खसाल्ने तरिका लगायतका विषयमा सहजीकरण गरिरहेको कार्यालय प्रमुख यादवको भनाइ छ ।

यसबाहेक मतदातालाई लक्षित गरी जिल्लाको पोखरभिन्डा र कल्याणपुर नगरपालिकाको बेल्हा मतदान केन्द्रमा गत साता नमुना मतदान सम्पन्न गरिएको तथा मिर्चैया र कल्याणपुर नगरपालिकामा स्थानीय तह निर्वाचनको विषयमा सडक नाटकसमेत गरिएको जिल्ला निर्वाचन कार्यालय, सिरहाका नायब सुब्बा उत्तम भट्टराईले जानकारी दिए ।

जिल्लाका मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतको नामावली प्राप्त हुनासाथ निर्वाचनसम्बन्धी तालिम दिएर मतदान केन्द्रमा खटाइने उनले बताए । रासस

प्रकाशित मिति : २९ जेष्ठ २०७४, सोमबार ००:००