३ बैशाख २०८१, सोमबार | Mon Apr 15 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

घुस लिएको अभियोगमा दुई गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ



सिन्धुली । घुस लिँदै गर्दा मंगलबार दुई गाउँपालिकाका कार्यकारी अधिकृत पक्राउ परेका छन् ।

सोलार जडानका लागि अवैध पैसा लिँदै गर्दा अधिकृतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोलन्जोर र फिकल गाउँपालिकाका कार्यकारी अधिकृतलाई इलोक्ट्रोनिक्स पसलबाट घुस लिएको अभियोगमा आयोग सम्पर्क कार्यालय बर्दिवासको टोलीले पक्राउ गरेको हो ।

गोलन्जोरका कार्यकारी अधिकृत भोलाकुमार आलेलाई रु एक लाख ५१ हजार र फिकलका कार्यकारी अधिकृत सतीश भट्टराईलाई रु ९० हजार घुस लिएको आरोप लगाइएको छ । कमलामाई नगरपालिका– ६ स्टलबजारस्थित धु्रव इलोक्ट्रोनिक्ससँग  ५ लाख रूपैयाँको सोलार खरिदमा उनीहरुले पसलेसँग घुस लिँदै गर्दा पक्राउ गरिएको आयोग सम्पर्क कार्यालय बर्दिवासका प्रहरी उपरीक्षक मुकेश सिंहले बताए ।

विद्युत् लाइन नपुगेका गाउँपालिकामा सोलार जडान गर्दा आफूले भनेअनुरुप पैसा नदिए सोलारको भुक्तानी रोकिदिने भन्दै ध्रुव इलोक्ट्रोनिक्सका प्रोपाइटर ध्रुव श्रेष्ठलाई धम्क्याइएको सिंहले बताए ।

यसअघि नै उनीहरुले सोलारको भुक्तानी गर्नुपर्ने भए पनि पैसा नदिएकै कारण रोक्दै आएका थिए । सिन्धुलीमा यसअघि गत चैत १८ गते कमलामाई सिन्धुलीका नापी सर्वेक्षक सन्तोष श्रेष्ठलाई बाटो छुट्याइदिएबापत २२ हजार पाँच सय रूपैयाँ घुस लिएको आरोपमा आयोग सम्पर्क कार्यालय बर्दिवासले पक्राउ गरेको थियो । रासस

प्रकाशित मिति : २३ जेष्ठ २०७४, मंगलबार ००:००