१४ चैत्र २०८०, बुधबार | Wed Mar 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उपप्रमुखको मैदानमा वकिल चन्द्रा



काँकडभिट्टा (झापा) । कालो कोटमा सजिएर अदालतमा वकालत गर्दै लामो अवधि बिताएकी भद्रपुरकी अधिवक्ता चन्द्रा श्रेष्ठ यतिबेला सूर्य चिन्हमा भोट माग्दै जनताको घर आँगनमा पुगिरहेकी छन् ।

कानुन व्यवसायसंगै राजनीति रोज्दै आएकी श्रेष्ठ नेकपा एमालेको तर्फबाट भद्रपुरको उपप्रमुख पदका उम्मेदवार हुन् । विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेकी उनी पछिल्लो समय अनेमसङ्घमार्फत एमालेको राजनीतिक मोर्चामा सशक्त उपस्थिति देखाउँदै आएकी छन् ।

काममा लगनशील, इमान्दर र पार्टीको बफादार कार्यकर्ता मानिने श्रेष्ठलाई पार्टीले स्थानीय तहको नगरको उपप्रमुखको टिकट दिएको छ जुन पद जितेमा उनले नगरको न्यायपालिकाको प्रमुखको जिम्मेवारी नै सम्हाल्ने छन् ।

विगतमा पार्टीभन्दामाथि उठेर भद्रपुर नगरवासीको सशक्तीकरण र उत्थानका लागि धेरै काम गरेकी उनी बताउछिन् । “मेरो जित्ने आधार नै हिजोको कामको मूल्याङ्कन हो, मैले कहिल्यै कसैलाई पनि जाति र पार्टीको आधारमा विभेद गरिनँ र गर्दिनँ पनि” – उनी भन्छिन् ।

झापाकै पुरानो नगरपालिकाको रुपमा रहेको भद्रपुरमा आदिवासी जनजाति र अल्पसङ्ख्यकको बाहुल्यता छ । उनीहरुमाथि विभेद, हिंसा अत्यधिकरुपमा हुने गरेको श्रेष्ठको बुझाइ छ । उनले वकालती पेसामा हुँदासमेत उनीहरुमाथि भएको हिंसा विरुद्ध लडेर न्याय दिलाएको स्मरण सुनाउँदै भनिन्– “मेरो उम्मेदवारी नै समाजमा हेपिएर उत्पीडित भएकाको उत्थान गर्नका लागि हो ।”

अझै पनि महिला बाहिर निस्किनु पर्यो भने श्रीमान्सँग पैसा मागेर हिँड्नुपर्ने अवस्था भएको बताउँदै उनी भन्छिन्– “महिलालाई सीप सिकाएर उद्यमशील बनाउँछु । सहुलियतमा ऋणको व्यवस्था गरेर स्वरोजगार बनाउने मेरो लक्ष्य छ ।”

हिंसामा परेका महिलाको अझै पनि न्यायमा पहुँच नपुगेको हुँदा आफूले जित्ने बित्तिकै नगरपालिका र वडामा ‘हेल्प डेक्स’ राखेर उनीहरुको न्यायमा पहुँच पुर्याउने सोच उनको छ । जिल्लामै कानुन व्यवसायीबाट उनी एक्लो उम्मेदवार हुन् ।

उनको बुझाइमा महिलाको सशक्तीकरणका लागि दर्बिलो खुड्किलो भनेको राजनीति नै हो । राजनीतिबाटै महिलाका आवाज अगाडि बढाउनसक्ने हुँदा उपप्रमुखको रुपमा उम्मेदवार बनेको श्रेष्ठ बताउछिन् ।

समाज रुपान्तरणको सपना साँचेकी श्रेष्ठ २०२६ सालमा आमा सुमित्रा देवी र बुबा खड्गबहादुर श्रेष्ठकी सुपुत्रीको रुपमा झापाको बुधबारेमा जन्मिएकी हुन् । विद्यार्थी जीवनदेखि अखिलबाट राजनीति सुरु गरेकी चन्द्राले २०५२ सालदेखि नै पार्टीको सदस्य भई सक्रिय राजनीति गर्दै आएकी छन् ।

उनी पार्टीको वडादेखि नगर, क्षेत्र हुँदै हाल जिल्लामा सक्रिय छिन् । श्रेष्ठ प्रगतिशील कानुन व्यवसायी सङ्घकी केन्द्रीय सदस्य तथा झापा बार इकाइको पनि सहसचिव हुन् । रासस

प्रकाशित मिति : २१ जेष्ठ २०७४, आइतबार ००:००