१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बूढानीलकण्ठमा बाटो, ढल र खानेपानी समस्या हल गरिने



काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाले समृद्धि, रोजगारी र दिगो पूर्वाधार विकासका योजनालाई प्राथमिकता दिने भएको छ ।

नगरपालिकाका नगरप्रमुख, उपप्रमुख र नगरपालिकाका– १० का विजयी वडाध्यक्ष र सदस्यलाई बधाई तथा मतदातालाई धन्यवाद दिन नेकपा एमाले, वडा नं १० ले शनिबार कपनमा आयोजना गरेको कार्यक्रममा नगरप्रमुख उद्धव खरेलले बाटो, ढल र खानेपानी समस्यालाई तत्कालै ध्यान दिइने बताए ।

उनले टोल टोलमा गई जनताका सुझावअनुसार काम गरिने प्रतिबद्धता व्यक्त गर्दै नगरपालिकाबाट सेवा लिन खोज्दा कसैले अनावश्यक पैसा मागेमा आफूहरुलाई तुरुन्त खबर गर्न आग्रह गरे ।

नगर उपप्रमुख रमादेवी राईले नगरपालिकामा महिला स्वरोजगार केन्द्र खोलिने जानकारी दिँदै चुस्त, दुरुस्त र छिटो सेवा दिइने प्रतिबद्धता व्यक्त गरिन् ।

बूढानीलकण्ठ– १० का वडाध्यक्ष नवराज भट्टराईले कपन क्षेत्रमा आगामी वर्षात अगावै बाटो र ढलको समस्या हल गरिने तथा दुई महिनाभित्र खानेपानीको सम्भाव्यता अध्ययन गरी प्रतिवेदन पेस गरिने जानकारी दिए ।

सो अवसरमा नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद डा राजन भट्टराईले स्थानीय तहको निर्वाचनमा एमालेले लिएको आर्थिक समृद्धि, राष्ट्रिय एकता र सामाजिक सद्भावका काम र नारा जनताले रुचाएको तथा आगामी दिनमा एमालेको बहुमतको एकल सरकार पनि देख्न चाहिरहेको जिकिर गरे । उनले नगरपालिकाका काममा सहयोग, समन्वय र प्रोत्साहन गर्न मतदातालाई आग्रह गर्दै बाटो र खानेपानीको समस्या हल गर्न नगरपालिकाका प्रतिनिधिलाई सुझाव दिए ।

कार्यक्रममा सहप्राध्यापक हेमनाथ पौडेल, एमाले काठमाडौँ क्षेत्र नं ४ का अध्यक्ष कुसुमकुमार कार्की, एमाले बूढानिलकण्ठ नगर सङ्गठन कमिटीका संयोजक दीपक निरौला, एमाले बूढानिलकण्ठ निर्वाचन कमिटीका तत्कालीन संयोजक सुन्दर पुर्कुटी, बूढानिलकण्ठ १० निर्वाचन परिचालन कमिटीका तत्कालीन संयोजक लक्ष्मीप्रसाद सङ्ग्रौला, एमाले बूढानिलकण्ठ  १० का अध्यक्ष जगतप्रसाद निरौला, अखिल नेपाल महिला सङ्घ, बूढानिलकण्ठ १० का अध्यक्ष सावित्री कँडेललगायतले नगरपालिकाका तत्कालीन समस्या हल गर्नका लागि छ महिनाको योजना ल्याउन जनप्रतिनिधिसँग आग्रह गरे ।

यसैबीच बूढानिलकण्ठ १० ले हरेक शनिबार सरसफाइ कार्यक्रम सञ्चालन गर्ने भएको छ । बूढानिलकण्ठ नगरपालिकाले आगामी आवका लागि करिब रु ४० करोडको बजेट पाएको छ । बूढानीलकण्ठ, कपन गुम्बा, रुद्रमती नदीलगायत यहाँका महत्वपूर्ण सम्पदा हुन् । साबिकका कपन, चुनीखेल, महाँकाल, खड्गा भद्रकाली, चपली र विष्णु बूढानीलकण्ठ गाविस मिलाएर बूढानिलकण्ठ नगरपालिका बनाइएको हो । रासस

प्रकाशित मिति : २० जेष्ठ २०७४, शनिबार ००:००