२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

म्याग्दीका छ स्थानीय तहमा नगर र गाउँ कार्यपालिकाले पूर्णता पायो



म्याग्दी, म्याग्दीका नगर र गाउँ कार्यपालिकाले बिहीबार पूर्णता पाएको छ । वैशाख ३१ गते भएको चुनावबाट निर्वाचित भएका नगरपालिका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले मतदान गरेर कार्यपालिकामा दलित, अल्पसङ्ख्यक र महिला सदस्य चुनेका हुन् ।

म्याग्दीको एक नगरपालिकासहित पाँच गाउँपालिकामा नगर र गाउँ कार्यपालिकाले पूर्णता पाएको हो । गाउँ तथा नगर कार्यपालिका गठनमा बेनी नगरपालिकामा एमाले र राप्रपाका उम्मेदवार विजयी भएका छन् भने रघुगङ्गामा कांग्रेसका उम्मेदवार निर्विरोध विजयी भएका छन् ।

त्यसैगरी मङ्गला र धौलागिरिमा एमालेका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् भने अन्नपूर्णमा कांग्रेस र माओवादीका उम्मेदवार विजयी भएका छन् । त्यसैगरी मालिका गाउँ कार्यपालिकामा भने तीनवटै पार्टी र स्वतन्त्रबाट समेत गरी सहमतिमै गाउँ कार्यपालिकाको गठन गरिएको छ ।

बेनीमा एमाले र राप्रपाका उम्मेदवार विजयी

बेनी नगर कार्यपालिका सदस्यमा दलित अल्पसङ्ख्यकतर्फ एमालेका कृष्णकुमार विश्वकर्मा, योगेन्द्रमान गौचन र राप्रपाका झलप्रसाद गौचन निर्वाचित भएका छन् । महिला सदस्यमा एमालेकी गोरी दर्जी, गौमती नेपाली, गौरी थापामगर, दुर्गा कार्की बानियाँ र टकसरा राना निर्वाचित भएका छन् ।

दस वडा रहेको बेनी नगरपालिकामा कांग्रेसले प्रमुखसहित एक वडा, एमालेले आठ वडा र स्वतन्त्रले एउटा वडामा विजयी भएका थिए भने उपप्रमुखमा राप्रपा विजयी भएको थियो ।

अन्नपूर्ण गाउँ कार्यपालिकामा कांग्रेस–माओवादी विजयी

अन्नपूर्ण गाउँ कार्यपालिका गठन भएको छ । बिहीबार भएको गाउँ कार्यपालिका गठनको निर्वाचन प्रक्रियामा काँग्रेस–माओवादी प्यानलका उम्मेदवारहरु विजयी भएका हुन् ।

दुई दलित वा अल्पसङ्ख्यक र चारजना महिला सदस्यका लागि भएको निर्वाचन प्रक्रियामा कांग्रेस र माओवादीले तालमेल गरेका थिए । निर्वाचित हुनेमा दलित तथा अल्पसङ्ख्यकबाट नेपाली कांग्रेसका आत्मा तुलाचन र माओवादी केन्द्रका थमबहादुर विक रहेका छन् ।

त्यसैगरी, महिला सदस्यमा नेपाली कांग्रेसकी दिर्जु रञ्जिता, पवित्रा खड्का र माओवादी केन्द्रका टेकमायाँ तिलिजा र विष्णुकुमारी दमै विजयी भएको निर्वाचन अधिकृत विदुर काफ्लेले जानकारी दिए ।

आठवटा वडा रहेको अन्नपूर्ण गाउँपालिकामा ४२ जना सदस्य रहेका थिए । उक्त गाउँपालिकामा प्रमुख र उपप्रमुखसहित चारवटा वडा कांग्रेसले तीनवटा वडामा एमाले र एउटा वडामा माओवादी केन्द्र विजयी भएका थिए ।

मालिकामा सहमतिमा गाउँ कार्यपालिका गठन

मालिका गाउँपालिकाको गाउँ कार्यपालिकाको दलित सदस्यमा कांग्रेसका कुलमान पटेल र अल्पसङ्ख्यकमा माओवादी केन्द्रका दोरण शेरचन निर्विरोध छनोट भएका छन् ।

महिला सदस्यमा सदस्यमा स्वतन्त्रबाट चनदेवी पुन र सरु श्रीपाली, एमालेकी गौमती चपार्इं र माओवादी केन्द्रकी मनरुपा घर्ती मनोनीत भएका छन् । मालिकामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र स्वतन्त्र समूहले सहमति गरेर निर्विरोध रुपमा कार्यपालिका सदस्य चयन गरेका हुन् ।

धौलागिरिको गाउँ कार्यपालिकामा एमालेका उम्मेदवार निर्विरोध

धौलागिरि गाउँ कार्यपालिकामा एमालेका उम्मेदवार निर्विरोध भएका छन् । दलित अल्पसङ्ख्यकतर्फ रामबहादुर विक, देउप्रसाद छन्त्याल, महिलातर्फ सुवादेवी पुर्जा, किनमाया घर्ती, बालकुमारी विक र तिलकुमारी केसी चयन भएका छन् ।

निर्वाचित कार्यपालिका सदस्यहरुलाई निर्वाचन अधिकृतहरुले विजयी भएको प्रमाणपत्र वितरण गरेका थिए । सातवटा वडा रहेको धौलागिरिमा प्रमुख र उपप्रमुखसहित ६ वडामा एमाले र एक एक वडामा माओवादी केन्द्र र कांग्रेस विजयी भएका थिए ।

मङ्गला गाउँ कार्यपालिकामा एमालेका उम्मेदवार सर्वसम्मत

म्याग्दीको मङ्गला गाउँपालिकामा गाउँ कार्यपालिकाका सदस्यहरुमा एमालेका उम्मेदवारहरु सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । बिहीबार भएको गाउँ कार्यपालिका गठनको निर्वाचनमा दलित तथा अल्पसङ्ख्यकतर्फ रत्न विक र सरदेवी भट्टचन सर्वसम्मत निर्वाचित भएका हुन् ।

त्यसैगरी चारजना महिला सदस्यहरुमा शशिकला फगामी, दिलमाया विक, सरस्वती उपाध्याय र दिलकुमारी खत्री निर्वाचित भएका छन् ।

पाँचवटा वडा रहेको मङ्गला गाउँपालिकामा प्रमुख उपप्रमुखसहित चारवटा वडामा एमाले विजयी भएको थियो भने एक वडामा माओवादी केन्द्र विजयी भएको थियो ।

रघुगङ्गा गाउँपालिकामा कांग्रेसका उम्मेदवार निर्विरोध

रघुगङ्गा गाउँपालिकामा गाउँ कार्यपालिका गठनको निर्वाचनमा कांग्रेस सर्वसम्मत रुपमा बिजयी भएको छ । गाउँ कार्यपालिका गठनको निर्वाचन प्रक्रियामा कांग्रेसका उम्मेदवारहरुको मात्रै मनोनयन दर्ता भएपछि उनीहरु निर्विरोध भएका छन् ।

दुई दलित वा अल्पसङ्ख्यकतर्फ धनमायाँ घताने गोतामे र तोरण दर्जी तथा चार जना महिला सदस्यमा सम्झना परियरा, विष्णुमती पुन, रामकुमारी गोतामे घर्ति र रिति थजाली निर्विरोध बिजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आठवटा वडा रहेको रघुगङ्गा गाउँपालिकामा ४२ जना सदस्य रहेका थिए । उक्त गाउँपालिकामा प्रमुख र उपप्रमुख सहित ७ वटा वडामा कांग्रेस बिजयी भएको थियो भने एक वटा वडामा माओवादी केन्द्र र एमालेको प्यानल बिजयी भएको थियो । रासस

प्रकाशित मिति : १९ जेष्ठ २०७४, शुक्रबार ००:००