५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तेह्रथुमका १३ मतदानस्थल संवेदनशील



तेह्रथुम, सुरक्षा समितिले जिल्लाका १३ वटा मतदानस्थल संवेदनशील रहेको घोषणा गरेको छ । स्थानीय तहको निर्वाचनमा चुनावी सुरक्षाका दृष्टिले जिल्लाभरका विभिन्न गाउँका मतदानस्थल संवेदनशील रहेको भन्दै छुट्टै सुरक्षा रणनीति बनाएको छ ।

सुरक्षा समितिले जिल्लाका १३ वटा मतदानस्थललाई संवदेनशील ठहराएको जिल्ला निर्वाचन अधिकारी निर्मलकुमार राईले बताए । उनका अनुसार लालीगुराँस नगरपालिकाका जनजागरण आधारभूत विद्यालय र सिंहवाहिनी मावि मतदान केन्द्र, फेदाप गाउँपालिकाका पञ्चकन्या मावि र सिद्धगणेश मावि मतदान केन्द्र तथा मेन्छ्यायेम गाउँपालिकाका शारदा मावि, कालिका आधारभूत विद्यालय र जनप्रिय मावि मतदान केन्द्र संवेदनशील घोषणा भएका छन् ।

यस्तै, फेदाप गाउँपालिकाका पञ्चकन्या आधारभूत विद्यालय, सिद्धकाली मावि जौँबारी र पञ्चकन्या आधारभूत विद्यालय मतदान केन्द्र संवेदनशील रहेका छन् । आठराई गाउँपालिकाका कालिका मावि, महेन्द्र मावि र गाविस भवन मौलेडाँडा मतदातस्थल सुरक्षाका दृष्टिले संवदेनशील ठहराइएको छ । बाँकी ४४ वटा मतदानस्थलको अवस्था भने सामान्य रहेको छ ।

जिल्लाका ५७ स्थानमा ८५ वटा मतदान केन्द्र रहेका छन् । उक्त क्षेत्रमा हुन सक्ने झडप, पार्टीबीचको माहोल, सम्भावित आपराधिक क्रियाकलाप, मतदाता संख्या र विगतका निर्वाचनमा भएका घटनाका आधारमा मतदानस्थललाई संवेदनशील र सामान्य अवस्थामा वर्गीकरण गरिएको जनाइएको छ ।

एउटा मतदानस्थलमा मतदाता सङ्ख्या हेरी दुईदेखि तीनवटासम्म मतदान केन्द्र निर्धारण गरिनेछन् । एउटा स्थानमा तीनदेखि पाँचजनासम्म प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका सुरक्षाकर्मी खटाइने जिल्ला प्रहरी प्रमुख प्रहरी नायब निरीक्षक भाग्येन्द्र पुरुष ढकालले बताए ।

निर्वाचनलाई शन्तिपूर्णरुपमा सफल बनाउन जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको र गस्ती बढाइएको उनले बताए । उनका अनुसार सामान्य अवस्थाका मतदानस्थलमा चारजनासम्म र संवेदनशीलस्थलमा सोभन्दा बढी प्रहरी, सशस्त्र प्रहरी र सेना खटाइनेछ ।

दुई नगरपालिका र चार गाउँपालिका रहेको जिल्लामा ६० हजार ७०४ जना मतदाता रहेका छन् । मत कम मात्रै बदर होस् र धेरैभन्दा धेरै मतदान होस् भनेर कार्यालयले मतदाता शिक्षालाई जोड दिएको निर्वाचन अधिकारी राईले जानकारी दिए ।

अहिले जिल्लाभर एक मतदान केन्द्र एक निर्वाचन शिक्षा कार्यकर्ता खटाइएको छ । उनीहरुले एक पटक घरदैलो सकिसकेको र दोस्रो पटक घरदैलो गरिरहेको उनले बताए । कार्यालयले समेत अन्य सबै तयारी सम्पन्न गरेको छ । जिल्लाको सदरमुकामबाहेकका पाँचवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना भइसकेका छन् । रासस

प्रकाशित मिति : १९ जेष्ठ २०७४, शुक्रबार ००:००