१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इलाममा कांग्रेसले उम्मेदवार चयन गर्यो



इलाम, नेपाली कांग्रेस इलामले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गरेको छ । चार नगरपालिका र छ गाउँपालिकामा कांग्रेसले प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष तथा सदस्यको टुङ्गो लगाएको हो ।

नेपाली कांग्रेस जिल्ला सचिव निरोज खड्गीका अनुसार १० वटै स्थानीय तहका उम्मेदवारको टुङ्गो लगाएर सिफारिसका लागि केन्द्रमा पठाइएको छ । “जिल्लादेखि पठाएको नाम केन्द्रले अनुमोदन गरेर पठाउँछ,” खड्गीले भने ।

कांग्रेसले इलाम नगरपालिका प्रमुखमा हिमालय कर्माचार्य र उपप्रमुखमा चन्दा कार्कीलाई उम्मेदवार बनाएको छ । माई नगरपालिका प्रमुखमा विष्णु कार्की र उपप्रमुखमा चन्द्रमाया सुब्बा, सूर्योदय नगरपालिका प्रमुखमा दुर्गा बराल र उपप्रमुखमा बन्दना पौडेल (अधिकारी), देउमाई नगरपालिका प्रमुखमा होम दुलाल र उपप्रमुखमा सूर्यकला राईलाई उम्मेदवार बनाइने भएको छ ।

त्यसैगरी, चुलाचुली गाउँपालिका अध्यक्षमा राजेन्द्र केरुङ र उपाध्यक्षमा लक्ष्मी मिश्र, माङसेबुङ गाउँपालिका अध्यक्षमा डिकेन्द्र इदिङ्गो र उपाध्यक्षमा जुनु माखिम, रोङ गाउँपालिका अध्यक्षमा शमशेर राई र उपाध्यक्ष चन्द्रकला राई (बुढाथोकी), फाकफोकथुम गाउँपालिका अध्यक्षमा रामकुमार श्रेष्ठ र उपाध्यक्षमा डालाकुमारी विष्टलाई उम्मेदवार बनाइने भएको छ ।

सन्दकपुर र माईजोगमाई गाउँपालिकामा यसअघि नै कांग्रेसले उम्मेदवार चयन गरिसकेको छ । कांग्रेसले ८१ वटा वडामा वडाध्यक्ष र अन्य सदस्यहरूको उम्मेदवारीसमेत घोषणा गरिसकेको सचिव खड्गीले बताए ।

गाउँ–गाउँमा मतदाता शिक्षा

यसैबीच, पहिलो चरणको निर्वाचनमा धेरै मतपत्र बदर भएपछि दोस्रो चरणको निर्वाचनमा बदर मत घटाउन जिल्ला निर्वाचन कार्यालय इलामले गाउँ–गाउँमा मतदाता शिक्षा सुरु गरेको छ ।

एक महिनापछि धकेलिएको स्थानीय निर्वाचन सम्पन्न गर्न कार्यालयले स्थागित गरिएको मतदाता शिक्षा कार्यक्रमलाई निरन्तरता दिएको हो । दुई चरणमा चुनाव तोकिनासाथ कार्यालयले मतदाता शिक्षा कार्यक्रमलाई स्थगित गरेको थियो ।

जिल्लाका २४४ मतदान स्थानमा नै मतदाता शिक्षा कार्यक्रम सुरु गरेको हो । सबै मतदान केन्द्रमा एक एकजनाका दरले २४४ जना निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वयम्सेवक परिचालन गरिएको जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले बताए ।

जिल्लामा चार नगरपालिका र छ गाउँपालिकामा ८१ वटा वडा छन् । रासस

प्रकाशित मिति : १७ जेष्ठ २०७४, बुधबार ००:००