७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङमा निर्वाचनको तयारी तीव्र गतिमा



विराटनगर, दोस्रो चरणको निर्वाचनअन्तर्गत मोरङमा निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको छ ।

जिल्लाका एक उपमहानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय सोमबार बाट सञ्चालनमा आएको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ । विराटनगर उपमहानगरपालिकामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

यसका साथै मोरङको ६६९ वटा मतदान केन्द्रका लागि चार हजार १४ कर्मचारी खटिनेछ । यसका लागि कर्मचारीको छनोट र तालिम कार्य एक साताभित्रमा सम्पन्न गरिसक्ने पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी गराए ।

सो निर्वाचनका लागि छ लाख ५१ हजार मतपत्र प्राप्त भइसकेको छ । पुराना मतपेटिका सात हजार मौज्दात रहेकामा केन्द्रीय कार्यालयबाट थप ८५–८५ लिटरको एक हजार १०६ वटा थप मतपेटिका पठाइएको बताइएको छ ।

यसैबीच, निर्वाचनमा मतदान गर्ने प्रक्रियालगायतका विषयमा जानकारी गराउनका सडक नाटक, पर्चा पोष्टर वितरण, मतदाता शिक्षालगायतका कार्य सुचारु भएका छन् ।

सफलतापूर्वक निर्वाचन गराउनका लागि दलहरुबीच सहमति

स्थानीय तहको निर्वाचन सफलतापूर्वक निष्पक्ष ढङ्गले सम्पन्न गराउनका लागि यहाँ सर्वदलीय समन्वय समिति गठन गरिने भएको छ ।

विभिन्न राजनीतिक दल, सुरक्षाकर्मी, निर्वाचन अधिकृत लगायतको विराटनगरमा बसेको बैठकले धाँधलीरहित निर्वाचन सम्पन्न गराउनका लागि सातबुँदे सहमति पनि गरेको छ ।

सो अवसरमा निर्वाचनको अवधिभर निर्वाचन आचारसंहिताको सबैले प्रभावकारी ढङ्गले पालना गर्ने र आचारसंहितालाई पालना नगर्नेलाई कानुनी कारबाही गर्नेसमेत सहमति भएको हो ।

यसका साथै मतगणना गर्दा कुनै पनि मतपत्रमाथि विवाद भएमा निर्वाचन अधिकृतले गरेको निर्णयलाई अन्तिम मान्ने, मतदाता परिचयपत्रको वितरण कार्यमा दलका कार्यकर्ताले सघाउने र मतदाता शिक्षालाई प्रभावकारी बनाउने सहमति भएको सो कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलको अध्यक्षतामा उक्त कार्यक्रममा दलका कार्यकर्ताबीच विवाद भएमा समाधानका लागि एक दलको एक नेताको नाम, दर्जा र फोन नं निर्वाचन अधिकृतलाई उपलब्ध गराउनेसमेत सहमति भएको छ । रासस

प्रकाशित मिति : १५ जेष्ठ २०७४, सोमबार ००:००