१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चाँगुनारायणको मतगणना आजबाट सुचारु हुने



भक्तपुर, दलबीच विवाद भएपछि गत शुक्रबारदेखि स्थगित भएको चाँगुनारायण नगरपालिकाको मतगणना बुधबार बाट पुनः सुचारु हुने भएको छ ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलको नेतृत्वमा जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वदलीय बैठकमा दलबीच सहमति भएपछि बुधबार ५ बजेबाट पुनःमतगणना सुरु हुने भएको हो ।

बैठकपछि प्रतिक्रिया दिँदै प्रजिअ पोखरेलले भने– “मतगणना रोकिएको ६ दिन भइसक्यो, पटक पटकको छलफलबाट पनि निकास निस्किएन तर आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकमा दलबीच सहमति कायम भयो, त्यसैले आज ५ बजेदेखि पुनःमतगणना गर्ने भएका छौ ।”

सर्वदलीय बैठकमा दलबीच मतगणना भइसकेको चाँगुनारायण नगरपालिका– ३ र ४ मा पुनः मतगणना गर्ने र निरन्तर रुपमा मतगणना कार्य अगाडि बढाउने सहमति भएको हो । यसअघि मतगणनामा बसेका कर्मचारी कोही पनि नराख्ने र नयाँ कर्मचारी राखेर मत गणना गर्ने निर्णयसमेत भएको उनले जानकारी दिए ।

गत शुक्रबार वडा नं– ३ र ४ को मतगणना सम्पन्न गरी मत परिणाम सार्वजनिक गर्ने तयारी गर्दा कर्मचारीले मतगणना पारदर्शी नगरेको र एमालेको उम्मेदवारलाई मत थप गरेर जोडेको भन्दै एमाले बाहेकका अन्य दलले विरोध गरेपछि मतगणना रोकिएको थियो ।

त्यसपछि अन्य दलले ३ र ४ वडाको मत गणना पुनः गर्नुपर्ने माग राखेको र एमालेले भने पुनः मतगणना गर्ने भए एकदेखि नै गर्नुपर्ने अडान राख्दै आएको थियो ।

मतगणना रोकिएपछि नेपाली कांग्रेसले आज (बुधबार) विज्ञप्ति जारी गर्दै मतगणना सुरु गर्न माग गरेको थियो भने दलका कार्यकर्ताले जिल्ला प्रशासन कार्यालयमा बैठक बसिरहदा मतगणना छिटो गर्न माग गर्दै नाराबाजी गरेका थिए । रासस

प्रकाशित मिति : १० जेष्ठ २०७४, बुधबार ००:००