१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहको संख्या वृद्धिप्रति एमालेको विरोध



काठमाडौँ, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले संविधान विपरीत स्थानीय तहको सङ्ख्या वृद्धि गरेको भन्दै विरोध जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको सरकारसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा एमालेले निर्वाचनको बीचमा संविधान विपरीत स्थानीय तहको संख्या वृद्धि गरिएको आरोप लगाएको हो । बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधानको कुन धारा वा दफा प्रयोग गरी स्थानीय तहको सङ्ख्या थपिएको हो भनी प्रश्न गरे ।

विगतमा आफ्नो दलले विराटनगर र वीरगन्जलाई महानगरपालिका बनाउने प्रस्ताव गर्दा अन्य दलले नमानेको स्मरण गराउँदै अध्यक्ष ओलीले एमालेले हार्ने गरी स्थानीय तह थप गरिएको आरोप लगाए । निर्वाचनका बीचमा यही जेठ १५ मा ल्याइने बजेटमा कुनै नयाँ कार्यक्रम ल्याउन नहुने र करको दायरामा फेरबदल गर्न हुँदैन भन्दै उनले सबैलाई निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गरे ।

बैठकपछि उपप्रधानमन्त्री विजयकुमार गच्छदारले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सबैलाई सहभागी गराउन संविधान र राजनीतिक सहमतिका आधारमा स्थानीय तहको संख्या थप गरिएको बताए । आफ्नो नेतृत्वको समितिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीसमेत उपस्थित बैठकको सहमतिका आधारमा झापादेखि कञ्चनपुरसम्म स्थानीय तह संख्या थपिएको स्पष्ट पार्दै सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री गच्छदारले भने– “यो निर्णय मुलुकको राजनीतिक सहमतिका लागि महत्वपूर्ण हुनुका साथै यसले निर्वाचनमा सबैको सहभागिता सुनिश्चत गर्नेछ ।”

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीद्वय गच्छदार र कृष्णबहादुर महरा, कांग्रेस सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता डा रामशरण महत, एमाले अध्यक्ष ओली, नेता माधवकुमार नेपाल, उपमहासचिव विष्णुप्रसाद पौडेललगायतको उपस्थिति थियो । रासस

प्रकाशित मिति : ९ जेष्ठ २०७४, मंगलबार ००:००