९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतगणना पुनः सुरु गर्नेबारे छलफल सुरु



भक्तपुर, चाँगुनारायण नगरपालिकामा विवादका कारण मतगणना रोकिएपछि पुनः मतगणना सुरु गर्ने विषयमा सहमति गर्नाका लागि सर्वपक्षीय बैठक सुरु भएको छ ।

शनिबार बिहान चाँगुनारायण– ३ र ४ को मतगणना सकिएपछि मतपरिणाम सार्वजनिक गर्ने बेलामा भएको विवादका कारण मतगणना रोकिएको थियो । अर्को निर्णय नभएसम्मका लागि मतगणना स्थगन गर्ने गरी मतगणनास्थलमा सिलबन्दी गरिएको छ ।

चाँगुनारायण– ३ को अन्तिम मत परिणाम सार्वजनिक गरिएको केही बेरमा वडा नं ४ को मतगणना सम्पन्न गरी मत परिणाम सार्वजनिक गर्ने तयारी गर्दा नेकपा एमाले बाहेकका अन्य दलले कर्मचारीले मतगणना पारदर्शी नगरेको जनाउँदै विरोध गरेपछि मतगणना रोकिएको छ ।

अपरान्ह पटक पटक मतगणना पुनःसञ्चालन गर्नेबारेमा दलबीच भएको छलफल टुङ्गोमा नपुगेपछि साँझ मतगणनास्थलमा सिलबन्दी गरी मतपत्र सुरक्षित राखिएको छ ।

शनिबार साँझ नै प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका राजाराम खड्का, नेमकिपाका न्हुच्छेभक्त फोजू, राप्रपाका रवीन्द्रप्रताप शाह, नेकपा माओवादी केन्द्रका होमनाथ लामिछाने र नयाँ शक्ति पार्टीका कान्छा तामाङले संयुक्त विज्ञप्ति जारी गर्दै चाँगुनारायण– १, २, ३ र ४ को पुनः मतगणना गर्नुपर्ने माग गरेका छन् ।

विज्ञप्तिमा मतगणनामा सहभागी कर्मचारीले कांग्रेसका प्रमुखका उम्मेदवारले प्राप्त गरेको १८४ मत एमालेका प्रमुखको उम्मेदवारको नाममा हालेको, नेमकिपाका प्रमुखले प्राप्त गरेको ११५ मतलाई बदर मतमा गणना गरेको, निर्वाचन निर्देशिकाले तोकेको अनुसूची तथा फारामको प्रयोग नगरेकाले परिणाम प्राप्त भएका मतमा समेत विश्वास नभएकाले पुनः मतगणना गर्नुपर्ने उल्लेख छ ।

मतपेटिका र मतपत्र रहेको कक्षमा गरिएको सिलबन्दी सहमतिबिना नतोड्न ती दलले सचेत गराएका छन् । मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले भने मतगणना रोकिएकाले छलफल र सहमतिबाटै समस्याको समाधान निकालेर पुनः मतगणना सुरु गर्नका लागि सर्वपक्षीय बैठक आह्वान गरिएको बताए । रासस

प्रकाशित मिति : ७ जेष्ठ २०७४, आइतबार ००:००