रत्ननगर (चितवन), पूर्वी चितवनको खैरहनीमा बिहीबारदेखि रोकिएको मतगणना शुक्रबार बिहान ११ बजेदेखि सुरु भएको छ । अर्धकट्टी अनुसार आएका मतपत्र गणना गर्ने दलबीच सहमतिपछि मतगणना सुरु भएको निर्वाचन अधिकृत टेकराज निरौलाले जानकारी दिए ।
मतदानको दिनमा मुचुल्का उठाएका बेलाको मतपत्रको सङ्ख्या र मतपेटिकामा हाल भएको सङ्ख्या नमिलेपछि यहाँ मतगणना बिहीबार ४ बजेदेखि रोकिएको थियो । सो विषयमा आयोगलाई जानकारी दिई अर्धकट्टी अनुसार मतगणना गर्ने सहमतिपछि गणना सुरु भएको हो ।
बिहीबारको छलफलमा निष्कर्ष ननिस्किएपछि शुक्रबार बिहान भएको छलफलले यस्तो सहमति गरेको उनको भनाइ छ । मुचुल्का भन्दा मतपेटिकामा १४ मत बढी देखिएपछि विवाद भएको थियो । मुचुल्का उठाएकोमा खैरहनी वडा नं– ७ मा एक हजार ५९४ मत खसेको भनेर उल्लेख छ । वडा नं– ७ को मतगणनाका क्रममा एक हजार ६०८ मतपत्र रहेको पाइएपछि कांग्रेसले पुनःमतगणनाको माग गरेको थियो । तर मतपेटिकामा भेटिएको मतपत्र र अर्धकट्टी भने बराबर भएको कार्यालयले जनाएको छ ।
मुचुल्कामा गल्ती भएको निरौला बताउछन् । अर्धकट्टी मिलेपछि त्यसैलाई आधार मानेर गणना गरिने उनको भनाइ छ । अहिलेसम्म भएको गणनामा खैरहनीमा ६ वटा वडामध्ये दुई वटा एमालेले जितेको र तीनवटा कांग्रेसले जितेको छ ।
खैरहनीमा पछिल्लो मतपरिणाम अनुसार प्रमुखमा एमालेको चार हजार ४२५ मत छ भने कांग्रेसको चार हजार २०२ र माओवादी केन्द्रको दुई हजार ८५ छ । यस्तै उपप्रमुखमा एमालेको चार हजार ३९३, कांग्रेसको चार हजार ४१८ माओवादी केन्द्रको एक हजार ७५८ मत रहेको छ । रासस
प्रतिक्रिया