फागुन १६, हेटौँडा । हेटौँडा उपमहानगरपालिका १२, पदमपोखरी कल्याणटार हेटौँडा बजार देखि नजीकैको दूरीमा रहे पनि भौतिक पूर्वाधार विकासको हिसाबले पछि परेका कारण सो वडाका अध्यक्षले आफ्नै पहलमा बाटो खन्न जुटेका छन् ।
सो क्षेत्रमा स्तरीय मोटरबाटो नहुँदा स्थानीय बासिन्दा समस्या भोग्न बाध्य भएको बताइन्छ । यस क्षेत्रमा मोटरबाटो लैजान स्थानीय बासिन्दाले विगतदेखि नै पहल गर्दै आएका थिए, तर सफल हुन सकेका थिएनन् ।
यसै सन्दर्भमा वडाध्यक्ष ललित घलानसहित स्थानीयवासी सो क्षेत्रमा बाटो खन्न जुटेका छन् । वडा नं १२ कार्यालयले यहाँको बाटो स्तरोन्नतिका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेपछि थप सहयोगका लागि स्थानीय बासिन्दा बाटो खन्न जुटेका हुन् ।
कल्याणटारबाट घिसिङटोल चौतारा हुँदै सिग्रेनी जाने करीब एक किलोमिटर मोटरबाटो स्तरोन्नति गरिएको हो । ह्युमपाइप सहितको बाटो स्तरोन्नति गर्ने कार्य भइरहेको अध्यक्ष घलानले जानकारी दिए । रासस




प्रतिक्रिया