१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आर्थिक मर्म बुझेका स्थानीय तहका प्रमुखको खोजी



चितवन, उद्योग व्यवसायको विकास बिना कुनै पनि स्थानीय तह समृद्ध हुन नसक्ने भन्दै यहाँका उद्योगी व्यवसायीले आर्थिक मर्म बुझेका, दूरदर्शी उम्मेदवार निर्वाचित हुनुपर्नेमा जोड दिएका छन् ।

उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष राजन गौतमले औद्योगिक क्षेत्र छुट्याएर उद्योग गर्ने वातावरण सिर्जना गर्न नेतृत्व तहले पहल गर्न सक्नुपर्ने बताए । जुन क्षेत्रमा उद्योग व्यवसाय फस्टाउन सक्छ, त्यो क्षेत्रको विकास हुने हुँदा औद्योगिक वातावरण सिर्जना गर्न सक्ने खालका स्थानीय तहका प्रमुखको खाँचो रहेको बताए ।

अहिलेसम्म उद्योग व्यवसाय गर्नेलाई सरकारले विपक्षीको रुपमा हेर्ने गरेकामा आफ्नो नगर र गाउँलाई उद्योगमैत्री बनाएर यो सरकारी काम नै हो भन्ने भावना विकास गर्न उद्योगी व्यवसायीले चाहेको उनले बताए ।

जिल्लामा तीन हजारभन्दा बढी साना ठूला उद्योग सञ्चालनमा छन् । राजधानी काठमाडौँ नजिक रहेकाले काठमाडौँका जनता पाल्नका लागि पनि यहाँ उद्योग आवश्यक देखिन्छ । उपत्यकामा जनघनत्व बढेकाले उद्योग स्थापना गर्ने ठाउँ अभाव हुँदै गएको छ । त्यहाँको माग पूर्ति गर्ने छिमेकी जिल्लामध्ये प्रमुख जिल्ला चितवन मानिन्छ अध्यक्ष गौतमले भने ।

उद्योग सङ्घका जिल्ला अध्यक्ष भीमबहादुर पाण्डे चितवनलाई आर्थिक राजधानीको रुपमा विकास गर्नुपर्ने हुँदा त्यस्ता योजना बनाउन सक्ने प्रमुखको खाँचो यो जिल्लालाई रहेको बताए । नगर वा गाउँ होस् त्यसलाई अग्रस्थानमा पुर्याउन उद्योग नै चाहिने भन्दै उनले उद्योग बिना नगर समृद्ध र सम्मुनत नहुने बताए ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष ज्ञानबहादुर बिसुरालले देशमा बढेको बेरोजगारी समस्या समाधान गर्न उद्योग नै आवश्यक पर्ने भन्दै उनले यो नगर समृद्ध बनाउने प्रमुख माध्यम उद्योग नै भएको बताए ।

खैरहनी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गुणराज श्रेष्ठले व्यवसायीको हकहितमा काम गर्न सक्ने प्रमुखको खोजी भइरहेको उल्लेख गरे । यो पार्टी र उ पार्टीभन्दा पनि स्थानीय तहका जनताको भावना बुझेर उद्योग व्यवसायलाई प्राथमिकता दिन सक्ने प्रमुखको खोजी अहिले भइरहेको उनले बताए ।

चितवन जिल्ला पोल्ट्री केन्द्रका रुपमा विकास भइरहेको छ । देशभरमा रु ७० अर्बभन्दा बढी पोल्ट्रीमा लगानी छ । त्यसको ५० प्रतिशतभन्दा बढी पोल्ट्रीको लगानी चितवनमा नै छ ।

जनतालाई कम रकममा आवश्यक कुखुराजन्य पदार्थबाट मात्रै परिपूर्ति गर्न सकिने भन्दै नेपाल पोल्ट्री महासङ्घका केन्द्रीय अध्यक्ष गुणचन्द्र विष्टले यसको मर्म बुझेको प्रमुख भएमा पोल्ट्रीको विकास गर्न सकिने बताए ।

तेस्रो पर्यटकीय गन्तव्य चितवनमा पर्यटन क्षेत्रको विकासका लागि यसको महत्व बुझेको प्रमुखको खाँचो रहेको क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरेले बताए । अर्बौं रुपैयाँको लगानी भएको पर्यटन क्षेत्र यहाँ रहेको भन्दै उनले स्वदेश र विदेशसम्म यसको प्रचारप्रसारका लागि पनि अबका प्रमुखको भूमिका महत्वपूर्ण हुने बिचार ब्यक्त गरे । जिल्लामा एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिका छ । रासस

प्रकाशित मिति : २७ बैशाख २०७४, बुधबार ००:००