५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धौलागिरिका सबै स्वास्थ्य संस्थामा प्रसूति केन्द्र



पुस १९, म्याग्दी । म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिकाको सबै वडामा प्रसूति केन्द्र सञ्चालन भएको छ ।

घरमै असुरक्षित रुपमा सुत्केरी हुने र सुत्केरी हुनका लागि छिमेकी वडा, जिल्ला सदरमुकाममा पुग्नुपर्ने समस्या हटाउन गाउँपालिकाको पहलमा प्रसूति केन्द्र सञ्चालन भएको हो । गत वर्ष ५ नम्बर वडामा पर्ने मल्कवाङ र गत हप्ता चार नम्बर वडा मुदीमा रहेको स्वास्थ्य चौकीमा प्रसूति केन्द्र सञ्चालन गरिएको हो ।

मुदीसँगै सात वटा वडा रहेको धौलागिरि गाउँपालिकाको सबै वडाका स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन भएको गाउँपालिकाको स्वास्थ्य शाखाका संयोजक लोकनाथ पौडेलले जानकारी दिए ।

यसअघि धौलागिरिको मुदी स्वास्थ्य चौकीमा मात्र बर्थिङ सेन्टरको सुविधा थिएन । मुदीमा बर्थिङ सेन्टर शुरु भएपछि मुदी र नेरवाङका ३०० भन्दा बढी घरधुरी लाभान्वित भएका छन् । यसअघि गत वर्ष ५ नम्बर वडा मल्कवाङ स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालन गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बर्थिङ सेन्टर सञ्चालन भएपछि सुरक्षित प्रसूति सेवामा सहज पहुँच स्थापित भई मातृ शिशु स्वास्थ्यमा सुधार हुने बताइन् । बर्थिङ सेन्टर सञ्चालनका लागि गुड नेवर्स इन्टरनेशनलको सहयोगमा कदम म्याग्दीद्वारा सञ्चालित सामुदायिक विकास परियोजनाले औजार, उपकरण उपलब्ध गराएको छ ।

पूर्वाधार व्यवस्थापनका लागि गाउँपालिकाबाट चालू आवमा एक लाख विनियोजन गरिएको वडाध्यक्ष बेगप्रसाद घर्तीले जानकारी दिए । एक जना तालीमप्राप्त अनमीको पनि व्यवस्था गरिएको छ ।

मुदीमा बर्थिङ सेन्टर नहुँदा यसअघि त्यहाँका गर्भवती सुरक्षित प्रसूति सेवाका लागि मुना, ताकम स्वास्थ्य चौकी, दरवाङ प्राथमिक स्वास्थ्य केन्द्र, बेनी अस्पताल र पोखरा पुग्नुपर्ने बाध्यता थियो । प्रसूति सेवाका लागि गाउँबाहिर जानुपर्दा ५० हजारभन्दा बढी आर्थिक खर्चको जोहो र हप्तौँ समय लाग्ने गरेको थियो । आर्थिकरुपमा विपन्न समुदायका गर्भवती घरमै असुरक्षित रुपमा प्रसूति हुन बाध्य थिए । प्रसूति केन्द्र सञ्चालन भएपछि समय र आर्थिक खर्चको बचत हुनुका साथै जोखिम न्यूनीकरण भएकोमा मुदीका महिला खुशी भएका छन् ।

एक हजारलाई परिचयपत्र वितरण

म्याग्दीको मालिका गाउँपालिकाले सबै वडामा घुम्ती शिविर सञ्चालन गरेर एक हजारभन्दा बढी ज्येष्ठ नागरिकलाई गाउँमै परिचयपत्र वितरण गरेको छ । सात वटा वडा रहेको मालिकाका सबै वडामा एक हप्तासम्म घुम्ती शिविर सञ्चालन गरेर एक हजार ७५ जना ज्येष्ठ नागरिकलाई वडा कार्यालयबाटै परिचयपत्र वितरण गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिइन् ।

परिचयपत्रको आधारमा ६० वर्षभन्दा बढी उमेरका ज्येष्ठ नागरिकले स्वास्थ्योपचार, यातायात लगायत सेवामा छुट सुविधा पाउने व्यवस्था छ । अपाङ्गता तथा ज्येष्ठ नागरिक परिचयपत्र कार्यविधि बनाएर उपाध्यक्ष बिटालुको संयोजकत्वमा अपाङ्गता समन्वय समिति गठन गरिसकेको छ । रासस

प्रकाशित मिति : १९ पुस २०७५, बिहिबार ००:००