Logo

दोगडाकेदार गाउँपालिकामा खेलमैदान निर्माण शुरु



 

मङ्सिर १६, बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकामा एक करोडमा पालिकास्तरीय खेलमैदान निर्माणकार्य शुरु गरिएको छ । गाउँपालिकाको चालु आर्थिक वर्षको १५ लाख बजेटमा खेलमैदान निर्माणकार्य अघि बढाइएको हो ।

दोगडाकेदार गाउँपालिकाको वडा नं ३ श्रीकोट र वडा नं ७ देउलेकको सिमाना लवलेक ९लडालेक०मा खेलमैदान निर्माणकार्य भइरहेको छ । २०० मिटर चौडाइ र ४०० मिटर लम्बाइ हुने उक्त खेलमैदानका लागि थप आवश्यक पर्ने बजेट प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए ।

सुविधासम्पन्न खेलमैदानलाई गाउँपालिकाले क्रमागत योजनामा राखेको आगामी वर्ष पनि उक्त मैदान निर्माणका लागि बजेट छुट्याइने उनले बताए ।

उक्त खेलमैदान निर्माणका लागि प्रतिनिधिसभा सदस्य दामोदर भण्डारी र सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य लीलाधर भट्टले सहयोग गर्ने आश्वासन दिएका छन् । सुविधासम्पन्न उक्त खेलमैदान १ करोडको लगानीमा निर्माण सम्पन्न हुने अनुमान गरिएको गाउँपालिका अध्यक्ष कार्कीले बताए । उनले भने, “स्टेडियम नै बनाउने गरी निर्माणकार्य अघि बढाइएको छ ।”

युवालाई खेलप्रति आकर्षित गराउन दोगडाकेदार गाउँपालिकाले एक वडा एक खेलमैदानको अवधारणा अघि बढाएर काम शुरु गरेको छ । यसअघि गाउँपालिकाका वडा नं ७ मा चनैराज खेलमैदान, वडा नं ५ मा धनथला खेलमैदान र वडा नं ८ मा कटौजपानी खेलमैदान निर्माण गरिएको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्