१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मत माग्दै घर–घरमा पुगे उम्मेदवार



भक्तपुर, ‘आमा, बुबा हाम्रो नगरको विकास गर्न तपाईं कै गाउँको केटो म आएको छु, मलाई भोट दिनुस है ।’

बिहान ७ बजे नै नेपाली कांग्रेसबाट भक्तपुरको सूर्यविनायक नगरपालिका प्रमुखका उम्मेदवार विष्णुराज कार्कीले हात जोडेर सिरुटारको उपयोगी चोकमा ज्येष्ठ नागरिकसंग भोट मागे ।

झन्डा र प्रचार सामग्री बोकेर टोलीसहित भोट माग्न आएका नेतालाई देखेर उत्साहित भएका मतदाताले भने, “हामी भोट दिन्छौ तपाईंहरु हामीलाई पानी दिनुस् ।”

उम्मेदवार कार्कीले गाउँमा पानी ल्याइदिने बचन दिए । टोलीमै उपप्रमुखकी उम्मेदवार कल्पना राजथला सहितको कांग्रेसको टोलीले भोट माग्दै सूर्यविनायक नगरपालिका १ सिरुटारको टोल–टोल र घर–घरमा पुग्दा मतदाता निकै उत्साहित भएका थिए ।

यता नेपाली कांग्रेस मध्यपुर थिमिका प्रमुखका उम्मेदवार अष्टकुमार कवेँले पनि घरदैलो अभियान सुरु गरेका छन् । मध्यपुरथिमि नगरपालिका– १ लोकन्थलीबाट उनले घरदैलो अभियान सुरु गरेका हुन् ।

लोकन्थलीको द्वारेटोल, सरस्वतीनगर, संगमनगर लगायतको क्षेत्रमा घर–घरमा पुगेर प्रमुखका उम्मेदवार कवेँले भोट मागेका थिए । उनले मध्यपुर थिमिको मुहार फेर्ने र विकास ल्याउने बाचा गर्दै भोट दिन आग्रह गरेका थिए ।

यता चाँगुनारायण नगरपालिकामा नेकपा एमालेले पनि शुक्रबारदेखि घरदैलो अभियान सुरु गरेको छ । सो दलका प्रमुखको उम्मेदवार रहेका एमाले केन्द्रीय सदस्य सोम मिश्र र उपप्रमुख उम्मेदवार बिना बास्तोलाले घर–घरमा पुगेर भोट मागेका छन् ।

मतदातासँग उम्मेदवार मिश्रले जिल्लामै पछाडि परेको चाँगुनारायण नगरपालिकामा विकासको लहर ल्याउने प्रतिबद्धता जनाए ।

उनले चाँगुनारायणका गाउँगाउँलाई सडक सञ्जालसँग जोड्ने, यस नगरक्षेत्रमा अझै पनि सडक पक्की हुन नसकेकाले निर्माण भएका सडकलाई पक्की बनाउने, खानेपानी र सिँचाइको व्यवस्था गर्ने, यातायातको पहुँच गाउँगाउँमा पुर्याउने प्रतिबद्धता जनाए ।

गाउँगाउँमा बाजागाजासहित झन्डा र प्रचार सामग्री बोकेर समर्थकको लहरमा नाचगान गर्दै घर–घरमा पुगेर उनले भोट मागे ।

भक्तपुरमा आजदेखि कांग्रेस र एमालेले घरदैलो अभिायन सुरु गरेका हुन् ।   रासस

प्रकाशित मिति : २२ बैशाख २०७४, शुक्रबार ००:००