असोज २४, जुम्ला । पहिरोका कारण चार महिनादेखि अवरुद्ध पातारासी सडक सञ्चालनमा आएको छ । पातारासी गाउँपालिकाले उर्थुदेखि लासी बजारसम्म पहिरो पञ्छाएर अवरुद्ध सडक सञ्चालनमा ल्याएको हो ।
लामो समयदेखि सडक अवरुद्ध हुँदा एम्बुलेन्स सञ्चालन हुन नसकेर यस क्षेत्रका बिरामीलाई उपचारमा समेत अप्ठ्यारो हुने गर्दथ्यो भने अन्य सार्वजनिक सवारी साधन सञ्चालन हुन नसकेर सार्वसाधरणलाई पैदल आवतजावतमा समेत समस्या हुँदै आएको थियो ।
सडक सञ्चालनमा आएपछि स्थानीयवासीलाई दैनिक उपभोग्य सामग्री तथा खाद्यन्न ढुवानीमा सहज भएको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले बताए ।
दुई दर्जन बढी स्थानमा गएको पहिरो पञ्छाएर सडक सञ्चालनमा ल्याएको पातारासी गाँउपालिकाका प्रमुख लक्षिमन बोहोराले बताए । उनका अनुसार सडक सञ्चालनमा आएपछि एम्बुलेन्स, मोटरसाइकल, ट्याक्टर र जीप आवतजावतमा सहज भएको छ । चाडपर्वको समयमा दैनिक उपभोग्य सामग्रीमा समस्या नहोस् भन्ने उद्देश्यले पनि सडक मर्मतमा तीब्रता दिएको उनले बताए ।
पातारासी गाउँपालिकालाई सदरमुकाम खलङ्गासँग जोड्ने उर्थुचौतारामा पक्की पुल निर्माण कार्य सम्पन्न भएको पातारासी गाउँपालिकाले जनाएको छ । पुल निर्माण भए पनि सडकसँग जोड्नका लागि केही काम बाँकी रहेको गाउँपालिकाले जनाएको छ ।
रासस
प्रतिक्रिया