९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

समृद्ध पोखरा निर्माण प्राथमिकतामा



वासुदेव पौडेल । पोखरा, पोखरा लेखनाथ महानगरपालिकाका लागि विभिन्न दलबाट उम्मेदवारी दिनेहरू समृद्ध पोखराको निर्माण आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।

भैगोलिक तथा प्राकृतिक रुपले सम्पन्न पोखराका सम्पदालाई जोगाउँदै आवश्यक पूर्वाधारको विकास गरिनेमा जोड दिँदै उनीहरुले वातावरणीय स्वच्छता र पर्यटकको बसाइँ लम्ब्याउने जस्ता कार्यमा तदारुकता देखाउने प्रतिवद्धता व्यक्त गरे ।

नेपाली कांग्रेसकाबाट नगरप्रमुख पदमा उम्मेदवारी दिनुभएका रामजी कुँवरले प्रकृतिप्रदत्त सम्पदालाई जोगाउन र बढ्दो सहरीकरणबाट हुने वातावरण प्रदूणलाई रोक्न स्वच्छ हराभरा पोखराको अवधारणका साथ आफू अघि बढ्ने धारणा व्यक्त गरे ।

“भूगोल र प्रकृतिले पोखरालाई धेरै कुरा दिएको छ,” उनले भने, “त्यसको उचित व्यवस्थापन, आवश्यक पूर्वाधार विकास, बढ्दो वातावरण प्रदूषण नियन्त्रण र फोहर व्यवस्थापनलाई प्राथमिकता दिएर अघि बढ्ने छु ।”

कांग्रेसबाट उपप्रमुख पदमा उम्मेदवारी दिएकी सरस्वती गुरुङले पोखरामा रहेका तालतलैया लगायतका सम्पदाको संरक्षण, यहाँका सामाजिक एवं सांस्कृतिक पक्षको जगेर्ना लगायत विषयलाई आफूले अघि बढाउने प्रतिवद्धता व्यक्त गरिन् ।

नेकपा एमालेबाट प्रमुख पदमा उम्मेदवारी दिएका मानबहादुर जिसीले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै पोखरालाई विश्वकै समृद्ध सहरका रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताए ।

“पोखराको विकाससँग जोडिएका पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण प्रक्रियालाई तदारुकताका साथ अघि बढाउने लगायत विकास र समृद्धिसँग सम्बन्धित कामलाई प्राथमकितामा राख्ने छु,” उनले भने, “ पोखरा सहर र यस संग जोडिएका गाउँ तथा बस्तीको विकासलाई सँगसँगै अघि बढाइने छ ।”

एमालेबाट उपप्रमुख पदमा उम्मेदवारी दिएकी मञ्जु गुरुङले नगरवासीका आधारभूत आवश्यकता पूरा गर्न, भष्टाचार तथा विकृति विसङ्गति मुक्त सहरका रुपमा पोखराको विकास गर्ने प्रतिवद्धता व्यक्त गरीन् ।

माओवादी केन्द्र बाट प्रमुख पदमा उम्मेदवारी दिएका विश्वप्रकाश लामिछानेले पोखरा अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको बताउँदै त्यही अनुरुपको विकासका लागि दीर्घकालीन सोचका साथ अघि बढ्ने बताए ।

“सुन्दर पर्यटकीय नगरीका रुपमा विकास गर्न यहाँका रमणीय गाउँ बस्ती समेतलाई समेट्ने गरी चक्रपथ निर्माण योजना अघि बढाइने छ” उनले भने, “यसका लागि आवश्यक पूर्वाधार विकास गरी समृद्ध महानगरका रुपमा पोखरालाई अन्तर्राष्ट्रियस्तरको सहर बनाइने छ ।”

माओवादी केन्द्र बाट उपप्रमुख पदमा उम्मेदवारी दिएकी गोमा ढकालले यहाँका १० वटै तालको संरक्षण तथा विकास, धुलो–धुवाँरहित सहर निर्माणलगायतका विषय आफ्नो प्राथमिकतामा पर्ने धारणा व्यक्त गरीन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुख पदका उम्मेदवार बनेकी गीता गुरुङले संसारभरका पर्यटक आउने पोखरामा बसपार्क व्यवस्थित नबन्नुले त्यसको नकारात्मक असरपर्ने हुँदा आफू विजयी भएमा सबैभन्दा पहिले व्यवस्थित बसपार्क निर्माणको कार्यलाई अघि बढाउने विचार व्यक्त गरीन् ।

नेपालकै ठूलो महानगरपालिका भएका कारण यसलाई व्यवस्थित गर्नु अपरिहार्य भएको उनको धारणा छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट उपप्रमुख पदका उम्मेदवार रमेशबहादुर खत्रीले पोखराको पर्यटकीय आकर्षणलाई विश्व माझ थप परिचित गराउने ढङ्गले विकास निर्माण अघि बढाइने बताए ।

समाजवादी फोरम नेपाल र नयाँ शक्ति पार्टीबाट प्रमुखका उम्मेदवार भएका हुम गुरुङले अन्तर्राष्ट्रियस्तरको पर्यटकीय गन्तव्य पोखराको अव्यस्थित सडकलाई व्यवस्थित गर्ने र खानेपानी लगायत समस्या समाधान गर्ने विषयलाई आफूले पहिलो प्राथमिकतामा राख्ने जानकारी दिए ।

समाजवादी फोरम नेपाल र नयाँ शक्तिबाटै उपप्रमुखका उम्मेदवार लक्ष्मी खाती परियारले व्यवस्थित सहरीकरण र सुकुम्वासी समस्यालगायत समाधानका विषय आफ्नो प्राथमिकतामा पर्ने धारणा व्यक्त गरीन् । रासस

प्रकाशित मिति : २० बैशाख २०७४, बुधबार ००:००