७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय तहको निर्वाचनमा बालबालिकाकाे प्रयोग नगर्ने प्रतिबद्धता



रोल्पा, रोल्पामा क्रियाशील राजनीतिक दलले आगामी जेठ ३१ गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

जिल्ला बालकल्याण समिति रोल्पा, सेभ द चिल्ड्रेन र हुरेक रोल्पाले जिल्लाका विभिन्न गाविसमा सञ्चालन गरेको स्थानीय तहको निर्वाचनमा बाल अधिकारको संरक्षण र प्रवर्धनका लागि राजनीतिक दलसंगको अन्तरसंवाद कार्यक्रममा स्थानीय राजनीतिक दलले लिखित प्रतिबद्धता जाहेर गरेका छन् ।

कार्यक्रममा निर्वाचनपूर्व, निर्वाचन हुँदा र निर्वाचनपश्चात् तीन चरणमा बालबालिका प्रयोग हुनसक्ने भएकाले सबै चरणमा चनाखो भएर बालअधिकारको संरक्षणमा लाग्ने प्रतिबद्धतासमेत जाहेर गरेका थिए ।

प्रतिबद्धतालाई गम्भीरताका साथ कार्यान्वयन गर्ने भन्दै दलका स्थानीय कमिटीले वडा कमिटीसम्म सो प्रतिबद्धता कार्यान्वयनका लागि जानकारी गराउने बताएका थिए । प्रतिबद्धता जिल्लाका माडी गाउँपालिका, त्रिवेणी गाउँपालिका विभिन्न वडामा क्रियाशील राजनीतिक दलले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेको बताइएको छ । जिल्लाका सबै गाउँपालिका र वडामा दलको प्रतिबद्धतापत्रमा हस्ताक्षर गरी कडाइका साथ कार्यान्वयन गरिने जिल्ला बालकल्याण समिति रोल्पाले बताएको छ ।

निर्वाचनमा बालबालिका प्रयोग भए नभएको अनुगमन गर्ने भन्दै जिल्लामा सात सदस्यीय अनुगमन समिति समेत गठन गरिएको छ । जिल्ला बालकल्याण समिति रोल्पाको संयोजकत्वमा गठित समितिमा नेपाल पत्रकार महासङ्घ, गैरसरकारी संस्था महासङ्घ, रोल्पा उद्योग वाणिज्य सङ्घ, जिल्ला बाल क्लब सञ्जाल र प्रधानाध्यापक समाज सदस्य रहेका छन् ।

समितिले जिल्लामा निर्वाचन गतिविधिमा बालबालिका प्रयोग भए नभएको अनुगमन गरी साप्ताहिकरुपमा केन्द्रीय बालकल्याण समितिमा प्रतिवेदनसमेत बुझाउने अनुगमन समितिका संयोजक इन्द्रा शाहीले बताए । रासस

प्रकाशित मिति : २० बैशाख २०७४, बुधबार ००:००