ज्ञानेन्द्र न्यौपाने
असोज १७, रसुवा ।
वर्षाका कारण नौकुण्ड गाउँपालिकाका अवरुद्ध ग्रामीण सडक पुनः जोडिने भएको छ । नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्पुसाङ्मो घलेका अनुसार गाउँपालिकाले गत वर्ष निर्माण गरेको ४८ किमी ग्रामीण सडक वर्षायामको भलपानीकै असरले ठाउँठाउँमा गएको पहिरो कारण अवरुद्ध भएकामा पुनःसञ्चालन गर्न तीन स्काभेटर परिचालन गरिएको छ ।
सडक यही असोज २७ गतेभित्र सफा गरी प्रत्येक गाउँमा यातायात सञ्चालन गरी सक्ने लक्ष्यका साथ द्रुत रुपमा मर्मत अगाडि बढिरहेको बताइएको छ । भाडाका स्काभेटर मध्यस्थकर्तामार्फत ल्याउँदा बढी व्ययभार पर्ने भएकाले गाउँपालिका आफैँले व्यवस्थापन गरी प्रतिघण्टा ४ हजार १५० का दरले सडकको अवरोध हटाउने काममा परिचालन भएको छ ।
सडकको अवरोध हटेपछि विकट सिङ्बन्दीदेखि ग्राङ्मर सम्मका गाउँमा यस वर्ष सडकबाटै दशैँका खाद्य सामग्री गाउँटोलमा सवारी साधनबाटै पुग्ने गाउँपालिका प्रमुख नुर्पुसाङ्मो तामाङले जानकारी दिए ।
२४ शिक्षक परिपूर्ति
गाउँपालिकाले आफ्ना क्षेत्रमा रहेका विद्यालयमा गुणस्तरीय शिक्षाका लागि २४ शिक्षक आवश्यकतानुसार करारमा परिपूर्ति गरिसकेको छ । शुद्ध खानेपानीको व्यवस्थापन, स्वास्थ्य संस्थाको सुदृढीकरण समेतका काम भइसकेको बताइएको छ । नौकुण्ड गाउँपालिकामा विद्यालय ३० वटा छन् ।
गाउँमा वृद्धवृद्धालाई उचित सम्मान गर्ने उद्देश्यले ज्येष्ठ नागरिकको यकिन लगतसमेत अद्यावधिक गर्ने कार्य शुरु गरिएको छ । गाउँपालिका क्षेत्रमा ७० बर्ष उमेर देखि माथिका करीब ८०० ज्येष्ठ नागरिक रहेको अनुमान गरिएको छ । हालसम्म १२५ जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरिसकिएको जनाइएको छ । लगत सङ्कलन गर्दै वितरण जारी राखिएको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले बताइन् ।
विगतका समयमा ज्येष्ठ नागरिकको सुविधा वितरकले खायो भन्ने गुनासोलाई अन्त्य गर्दै अहिले ज्येष्ठ नागरिकको बैंक खातामार्फत भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाइएको छ । परिचयपत्र वितरणछि ती ज्येष्ठ नागरिकलाई जाडोयाममा लगाइने कपडाको न्यानो झोला वितरण गर्ने कार्ययोजना समेत स्वीकृत भइसकेको उपाध्यक्ष तामाङले जानकारी दिए ।
छ वटा वडा रहेको नौकुण्ड अन्तर्गत बेताङ, सरस्युँ, खाल्चेत, बडरे, ठूलोभोर्ले, चित्ती घोर्मु, आरुखर्क, लाङ्बु, थाङ्दोर, सिङ्बन्दी, यार्सा, युब्रा, पारच्याङ, गुइसा, घिचेत, पाटीखर्क, सरमथली, दनुस्वाँरा र फाम्चेत सम्मका तीन दर्जन भन्दा बढी गाउँ रहेका छन् ।
रासस




प्रतिक्रिया