५ पुस २०८२, शनिबार | Sat Dec 20 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झांगमु–तातोपानी र केरुङ–रसुवागढी नाका पुल पुनःनिर्माणको शिलान्यास



 

भदौ २४, काठमाडौं । चीन भ्रमणमा रहेका सभामुख कृष्णबहादुर महराले झांगमु–तातोपानी (सिन्धुपाल्चोक) र केरुङ–रसुवागढी (रसुवा) नाकामा अवस्थित पुलको पुनःनिर्माण र ल्हासास्थित महावाणिज्य दूतावास भवनको शिलान्यास गरेका छन् ।

ल्हासामा आयोजना गरिएको विशेष समारोहकाबीच उनले नेपाल–चीन सीमा नाकाका अन्तर्राष्ट्रिय मितेरी पुलको पुनःनिर्माण तथा महावाणिज्य दूतावास भवनको शिलान्यास गरेका हुन् । सभामुख महराको प्रमुख आतिथ्यमा ल्हासाबाटै भिडियो प्रविधिबाट गरिएको उक्त शिलान्यास समारोहमा तिब्बत जनकाङ्ग्रेसका अध्यक्षसहितका पदाधिकारीको सहभागिता रहेको सभामुख महराको सचिवालयले जनाएको छ ।

विसं २०७२ वैशाख १२ को ‘गोरखा भूकम्प’का कारण नेपाल–चीन जोड्ने दुवै मितेरी पुल क्षतिग्रस्त भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला संयुक्त वक्तव्यमा दुई मितेरी पुल बनाउने सहमति भएसँगै चीन सरकारले पुल पुनःनिर्माणको कार्य अघि बढाउन लागेको हो । यी दुई मितेरी पुल निर्माण भएसँगै दुई देशबीचको व्यापारका साथै पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्नेछ ।

शिलन्यास कार्यक्रममा ल्हासास्थित नेपाली महावाणिज्यदूत, परराष्ट्र मन्त्रालयका सहसचिव, शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक तथा नेपाल–चाइना फ्रेण्डसिप एशोसियसनका पदाधिकारीको उपस्थिति रहेको थियो । ल्हासामा शिलान्यास गरिएको उक्त भवन चीन सरकारको स्वामित्वमा नियोगले सन् २०७५ सम्मका लागि भाडामा लिएको हो ।

‘महावाणिज्य दूतावास नेपाल–चीन सम्बन्धको प्रतीक’

पुल पुनःनिर्माण तथा महावाणिज्य दूतावास भवन शिलान्यास समारोहलाई सम्बोधन गर्दै सभामुख कृष्णबहादुर महराले ल्हासामा रहेको नेपाली वाणिज्य दूतावास नेपाल र चीनबीच सुमधुर सम्बन्धको प्रतीकका रुपमा रहेको बताए ।

“ल्हासामा रहेको वाणिज्य दूतावास नेपालको प्राचीन वाणिज्य दूतावासमध्येको एक हो” सभामुख महराले भने, “यो वाणिज्य दूतावास नेपाल र चीनबीच सुमधुर सम्बन्धको प्रतीकका रुपमा रहेको छ र भविष्यमा दुई मुलुकबीचको सम्बन्धको कोसेढुङ्गाका रुपमा रहनेछ ।”

ऐतिहासिक केरुङ–रसुवागढी पुल र तातोपानी मितेरी पुल पुनःनिर्माणले नेपाल–चीन सम्बन्धमा अर्को इँटा थप्ने काम गरेको चर्चा गर्दै उनले यसले दुवै देशको व्यापार र पर्यटन प्रवर्द्धन गरी जनताको जीवनस्तर उकास्नेमा ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

भूगोल, संस्कृति, धर्म र परम्पराले नेपाल र चीनबीच प्राचीनकालदेखि नै सम्बन्ध रहँदै आएको बताउँदै सभामुख महराले सांस्कृतिक समानता र जीवनशैलीले दुई देशबीचको सम्बन्धलाई झनै प्रगाढ बनाएको उल्लेख गरे । दुवै देशका नागरिकले बौद्ध धर्मको अनुशरण गर्नु सांस्कृतिक, धार्मिक सम्बन्धको ज्वलन्त उदाहरण भएको चर्चा गर्दै उनले ऐतिहासिक व्यापारिक मार्ग, संस्कृति आदानप्रदान र राजनीतिक अन्तरक्रिया नेपाल–चीन सम्बन्धका गतिशील पक्ष भएको बताए ।

पहिलो पटक आफूले तिब्बत स्वायत्त क्षेत्र भ्रमण गर्दाको क्षण स्मरण गर्दै सभामुख महराले तिब्बतको भौतिक विकासबाट आफू धेरै प्रभावित भएको बताए । “पहिलोपटक तिब्बत स्वायत्त क्षेत्र भ्रमण गर्दा यसले विगत केही दशकको समयमा गरेको परिवर्तनलाई प्रत्यक्ष अवलोकन गर्ने मौका पाएको थिएँ” उनले भने, “म विशेष गरी यहाँको भौतिक विकासबाट धेरै प्रभावित भएको छु । यो परिवर्तनको लागि जिम्मेवार, दूरदर्शी नेतृत्व र मेहनती जनतालाई धन्यवाद दिन चाहन्छु ।”

तिब्बत प्राचीनकालदेखि नै चीन प्रवेश गर्ने मुख्य मार्गका रुपमा रहेको चर्चा गर्दै सभामुख महराले सुख र दुःख दुवै समयमा नेपालले चीनको स्वशासित क्षेत्र तिब्बतबाट महत्वपूर्ण सहयोग पाइरहेकामा खुशी व्यक्त गरे ।

“सुख र दुःख दुवै समयमा नेपालले चीनको स्वशासित क्षेत्र तिब्बतबाट महत्वपूर्ण सहयोग प्राप्त गरिरहेका छौँ” उनले भने, “चीनको स्वशासित क्षेत्र तिब्बत हाम्रो घनिष्ठ मित्र, असल छिमेकी र शुभचिन्तक हो । नेपालको बाह्य सम्बन्धको पाटोमा तिब्बतको महत्वपूर्ण स्थान रहेको छ ।” तिब्बत चीनको एक भाग हो भन्ने कुरामा नेपाल सरकार अडिग रही ‘एक चीन नीति’मा पूर्ण प्रतिबद्ध रहेको दोहो¥याउँदै सभामुख महराले नेपाली भूमि कुनै पनि छिमेकी राष्ट्रको हितविपरीत प्रयोग हुन नदिने कुरामा सजग रहेको बताए ।
रासस

प्रकाशित मिति : २४ भाद्र २०७५, आइतबार ००:००