६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कञ्चनपुरका ४ नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा



 

२२ असार, कञ्चनपुर । कञ्चनपुरका चार नगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएको छ । नगरपालिकाका शतप्रतिशत बालबालिकाले खोप पाएको सुनिश्चित भएपछि सुनिश्चितता घोषणा गरिएको हो ।

यहाँका कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र भीमदत्त नगरपालिकालाई खोप सुनिश्चितता घोषणा गरिएको छ । जन्मेदेखि डेढ वर्षसम्मका बालबालिकाले रोग प्रतिरोधात्मक ११ प्रकारका खोप पाए नपाएकोबारे महिला स्वास्थ्य स्वयंसेविकालाई घरदैलोमा परिचालन गरी पूर्ण खोप नपाएका बालबालिकालाई खोप लगाई पूर्ण पारिन्छ ।

स्वास्थ्य अधिकृत तीर्थराज भट्टले भने, “वडा, नगरपालिकामा सबै बालबालिकाले पूर्ण खोप पाएपछि मात्रै नगरपालिकालाई सुनिश्चितता घोषणा गरिन्छ ।” सबै नगरपालिका र गाउँपालिकाका बालबालिकाले पूर्ण खोपको मात्रा पाएपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता घोषणा गरिने बताए ।

जनस्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार खोप लगाउने उमेरका कञ्चनपुरका नौ हजार बढी बालबालिकाले पूर्ण खोपको मात्रा पाएका छन् ।

खोपले रोगसंग लडने प्रतिरोधात्मक क्षमताको विकास गर्ने भएकाले बालबालिकालाई विसिजी, डिपिटी, हेपबिहिव, पोलियो, दादुरा लगायतका खोप लगाएर ११ प्रकारका प्राणघातक रोगबाट बचाउन सकिने हुन्छ ।

क्षयरोग, धनुष्टंकार, भ्यागुते, लहरेखोकी, हेपाटाइटिस बी, हेमोफोलिस इन्फलुइन्जा, बी, पोलियो, दादुरा, जापनिज इन्सिफलाइटीस लगायतका प्राणघातक रोगविरुद्धको खोप निःशुल्क रुपमा निर्धारित खोप केन्द्रमा लगाइने गरिएको छ ।

बालबालिकाले खोपका सबै मात्रा पाएपछि जिल्लाका सबै प्राथमिक उपचार केन्द्र, स्वाथ्य चौकी, उपस्वास्थ्य चौकी, शहरी स्वास्थ्य क्लिनिकको कार्य क्षेत्रभित्र रहेका गाउँपालिका र नगरपालिकालाई चार वर्षअघि पूर्ण खोपयुक्त घोषणा गरिएको थियो ।

रासस

प्रकाशित मिति : २२ असार २०७५, शुक्रबार ००:००