१४ असार, भक्तपुर । सूर्यविनायक नगरपालिकाले आव २०७५/७६ का लागि ७६ करोड ४५ लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाद्वारा बुधबार आयोजित पत्रकार सम्मेलनमा नगर प्रमुख वासुदेव थापाले चालु आव भन्दा ४३ प्रतिशत बजेट वृद्धि गर्दै तेस्रो नगरसभाबाट पारित सो बजेट सार्वजनिक गरेका हुन् ।
आव २०७५/७६ को लागि आन्तरिक आय र राजस्व बाँडफाँड गरी २७ करोड २४ लाख ६५ हजार तथा नेपाल सरकारबाट समानीकरण र सशर्त अनुदान गरी ४९ करोड २० लाख ६२ हजार गरी कुल ७६ करोड ४५ लाख २७ हजारको बजेट सार्वजनिक गरेका हुन् । यसमा पूँजीगततर्फ ३७ करोड २० लाख ८४ हजार र चालुतर्फ ३९ करोड २४ लाख ४३ हजार बजेट विनियोजन गरिएको छ ।
नगरसभाले सडक निर्माण गर्दा कम्तीमा छ मिटर चौडा हुनुपर्ने मापदण्ड तोकेको छ । संस्थागत विद्यालयको सहभागितामा शिक्षा सुधार कोषको स्थापना गरिने भएको छ । प्रत्येक सहकारी संस्थाले कम्तीमा एक सामाजिक कार्य गर्नुपर्ने र एक घरमा दुई विरुवा अनिवार्य रुपमा रोप्नु पर्ने नियम पनि नगरसभाले बनाएको छ ।
नगरपालिकाले ‘कर डर होइन, नगर विकासको भर हो’ भन्ने नाराका साथ करको दायरालाई फराकिलो बनाएको छ । नगरपालिकाले विभिन्न पाँच वटा विधयेक र नौ वटा संशोधनसहितको कार्यविधि पारित गरेको छ ।
नगरपालिकाले एक करोड र सोभन्दा माथिका ११ वटा ठूला सडक आयोजना र ३० लाखभन्दा बढीका १० आयोजना सञ्चालन गर्ने भएको छ । नगरपालिकाले पाँच लाखभन्दा कम रकमको साना र टुक्रे योजनालाई बजेट विनियोजन गरेको छैन । सडकमा मात्रै कुल विकास बजेटको ७० प्रतिशत बजेट विनियोजन गरिएको छ ।
नगरपालिकाले पाँच लाखभन्दा माथिको निर्माण आयोजना भने उपभोक्ता समितिलाई नदिने भएको छ । पाँच लाखभन्दा माथिको कुनै पनि आयोजनाहरु बोलपत्र आह्वान गरी ठेक्काबाटै गर्नुपर्ने व्यवस्था गरेको छ ।
नगरपालिकाले ‘कृषि, शिक्षा, पर्यटन र पूर्वाधार–सूर्यविनायक समृद्धिको मूल आधार’ भन्ने नाराका साथ यी क्षेत्रलाई पनि बजेटको व्यवस्था गरेको छ । नगरपालिकाले नगरको पर्यटन एवं यातायात गुरुयोजना निर्माण गरी पर्यटकीय सम्भावनाको उजागर गर्दै पर्यटनलाई व्यावसायिकरुपमा लैजाने योजना अघि सारेको छ ।
भ्रष्टाचार र कमिसनकाबारेमा पत्रकारहरुबाट उठाइएका प्रश्नको जवाफ दिँदै नगर प्रमुख थापाले भने, “कुनै पनि आयोजनामा मैले कमिसन खाएको प्रमाणित भएमा एक मिनेटभित्रै पद त्याग्नेछु । नातागोता च्याप्ने, कानूनविपरीत जाने काम हुँदै हुँदैन ।”
कार्यक्रममा प्रशासकीय अधिकृत चिरञ्जीवी तिमिल्सेनाले आगामी वर्षदेखि असारे विकास नहुने र नगरपालिकाको सबै विकास चैत, वैशाख सम्म सम्पन्न भइसक्ने नीति लिएको बताए । नगरपालिकाको भवन समिति संयोजक रवीन्द्र सापकोटाले विकास निर्माण एकद्वार तरिकाले गर्ने व्यवस्था गरिएको बताए ।
रासस
प्रतिक्रिया