३१ असार २०८२, मंगलबार | Tue Jul 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

झापाको बाह्रदशी गाउँपालिका खुल्ला दिसामुक्त घोषणा



 

२९ जेठ, बनियानी– झापा । झापाको बाह्रदशी गाउँपालिका खुल्ला दिसामुक्त घोषणा गरिएको छ । जिल्ला समन्वय समिति, झापाका प्रमुख एवं जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले सोमबार एक कार्यक्रमका बीच बाह्रदशी गाउँपालिकालाई खुल्ला दिसामुक्त घोषणा गरे ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले खुल्ला दिसामुक्तको प्रतीक हरियो झण्डा फहराउनुका साथै गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीलाई हस्तान्तरण गरे । अध्यक्ष पोर्तेलले राजमार्ग दक्षिणमा पर्ने, विपन्न र पछाडि पारिएका समुदायको घना बसोबास रहेको बाह्रदशीले सुगम नगरपालिकालाई चुनौती दिएको बताए ।

“नेपालको पूर्वी प्रवेशद्वार मेचीनगर, तीव्र शहरीकरण भइरहेको र व्यापारिक केन्द्रको रुपमा रहेको विर्तामोड, नेपालकै पुरानो नगरपालिका समेत रहेको सदरमुकाम भद्रपुर, मुलुककै अर्थमन्त्री एवं प्रदेश गृहमन्त्रीको गृहनगर गौरादह र प्रधानमन्त्रीको गृहनगर दमकलाई पनि बाह्रदशीले छिटो खुल्ला दिसामुक्त घोषणा गरेर देखाउन चुनौती दिएको छ” उनले भने ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीकुमार नेपालले राज्यले पारित गरेका नीतिनियम, तयार गरेका प्रावधान र गरेका घोषणा एवं प्रतिबद्धतालाई पूरा गर्न सहयोग गर्नु सम्पूर्ण स्थानीय तह र नागरिकको दायित्व भएको बताए ।

सातहजार ९७२ घरधुरी रहेको बाह्रदशी गाउँपालिकामा अभियानअघि चार हजार ९३३ घरधुरीमा सुरक्षित चर्पी रहेकोमा खुल्ला दिसामुक्त अभियानको क्रममा तीन हजार ३९ घरधुरीमा सुरक्षित शौचालयको निर्माण गरेपश्चात खुल्ला दिसामुक्त घोषणा गरिएको हो । बाह्रदशी खुल्ला दिसामुक्त हुने झापाको छैटौँ स्थानीय तह हो ।
रासस

प्रकाशित मिति : २९ जेष्ठ २०७५, मंगलबार ००:००