१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोरङको कानेपोखरी गाउँपालिका खुला दिसामुक्त घोषणा



 

२९ जेठ, उर्लाबारी– मोरङ । मोरङको कानेपोखरी गाउँपालिका औपचारिकरुपमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको छ ।

सोमबार भएको एक कार्यक्रमका बीच प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खानेपानी तथा स्वच्छता समन्वय समितिका संयोजक नरेश पोख्रेल र विशेष अतिथि जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका डिभिजन प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेलाई प्रमाणपत्र हस्तान्तरण गर्दै खुला दिसामुक्त क्षेत्र घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोख्रेलले स्वास्थ्य नै धन हो भन्दै सिंगो मोरङ जिल्ला नै खुल्ला दिसामुक्त जिल्ला घोषणाको संघारमा रहेको बताए । समाजमा अन्धविश्वास अझै रहेकाले शौचालय बन्न नसकेको र यसलाई विस्तारै निरुत्साहित गरेर शौचालय बनाउँदै जानुपर्ने उनको भनाइ थियो ।

घोषणा गरिएका मोरङ जिल्लाको १७ वटा स्थानीय तहमध्ये कानेपोखरी गाउँपालिका ८ औँ मा पर्दछ । अन्य नौवटा स्थानीय तहमा घोषणा हुन बाँकी छन् । २०६८ सालको जनगणनाअनुसार कानेपोखरी गाउँपालिकामा घरपरिवार संख्या आठ हजार ६८३ रहेका छन् । २०७५ साल जेठसम्म घरधुरीको संख्या आठ हजार ८६७ रहेको गाउँपालिकाको तथ्यांकमा उल्लेख रहेको छ ।

सोमध्ये आठ हजार ८६२ घरले शौचालय बनाएर प्रयोग गर्दै आएको गाउँपालिकाको अध्ययनले देखाएको छ । ९१ घरधुरीमा शौचालय निर्माण बाँकी रहेकोमा जिल्ला खानेपानी तथा सरसफाइ कार्यालयबाट प्राप्त पाइप र कानेपोखरी गाउँपालिकाबाट विनियोजित २ लाख बजेटबाट शौचालय निर्माण गरी खुला दिसामुक्त गाउँपालिका घोषणा गरेको गाउँपालिकाका अध्यक्ष काफ्लेले बताए । कानेपोखरी गाउँपालिकाभित्र ५ वटा सार्वजनिक शौचालय रहेका छन् ।
रासस

प्रकाशित मिति : २९ जेष्ठ २०७५, मंगलबार ००:००