२० जेठ, मलेखु– धादिङ ।
थाक्रे गाउँपालिका– ११ मा पक्की पुल निर्माण गर्न ठेक्का लिएको इशान कन्सट्रक्सनले तोकिएको मितिभन्दा चार वर्ष बढी समय भइसक्दा समेत काम पूरा गरेको छैन । डिभिजन सडक कार्यालयले पटक पटक म्याद थपेर पनि काम नगरेपछि कालोसूचीमा राखेर पुनःठेक्का लगाएको छ । तर सडक डिभिजन कार्यालयले कारबाही भने गर्न सकेको छैन ।
गत वर्ष नै निर्माण गरिसक्नुपर्ने नाना कन्सट्रक्सनले धुषा स्वास्थ्यचौकी भवन, हुलाकभञ्ज्याङ चैनपुर बाँकोटघाट सडकस्तर उन्नती, गल्छीपुल डुम्रीचौर सडक, चिसापानी कोइलीखर्क सडक स्तरोन्नति लगायत काम सम्पन्न भएको छैन । गृह मन्त्रालयको परिपत्रअनुसार जिल्ला प्रशासन कार्यालयले ठेक्का लिएर समयमै काम नगर्ने ठेकेदार कम्पनीको विवरण तयार गरी मन्त्रालयमा पठाइएको र आदेश आएपछि कारबाहीको प्रक्रियामा जाने सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले बताए ।
डिभिजन सडक कार्यालय चितवनको १३ वटा ठेक्का, जिल्ला प्राविधिक कार्यालयको तीनवटा तथा शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धादिङको ८ वटा ठेक्काको काम ठेकेदार कम्पनीले सन्तोषजनक रुपमा गर्न नसकेको विवरण गृहमन्त्रालयमा पठाइएको ढकालले बताए ।
सडक, पुल, स्वास्थ्य चौकी, सडकको स्तरोन्नति लगायत काम ओगटेर तोकिएको समयमा काम नगर्ने ठेकेदार तथा ठेकेदार कम्पनीलाई काम सन्तोषजनक नभएमा तत्कालै कारबाही गर्न सकिने प्रावधान छ । पटक पटक विभिन्न कारण देखाएर सम्झौताको म्याद थप गर्ने गरिएपछि काममा लापरबाही हुने गरेको र गुणस्तरमा समेत सम्झौता हुने गरेको छ । विभिन्न २४ वटा योजनामा ठेक्का लिएका २० वटा ठेकेदार कम्पनीले तोकिएको समयमा काम नगरेको बताइएको छ ।
रासस




प्रतिक्रिया