Logo

निर्वाचन वैशाख ३१ मा एकै चरणमा गर्ने पाँच दलको निष्कर्ष



काठमाडौँ, ६ वैशाख । प्रमुख पाँच दलले वैशाख ३१ काे निर्वाचन निर्धारित मितिमै हुने स्पष्ट पार्दै मधेस केन्द्रित दल सहमतिमा आए केही जिल्लामा दाेश्राे चरणमा निर्वाचन गर्न सकिने निष्कर्ष निकालेका छन् ।

निर्वाचन लगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार बालुवाटारमा माओवादी केन्द्र, नेपाली काँग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का शीर्ष नेतासहितको बैठक बोलाएका थिए ।

प्रमुख पाँच दलका नेताहरुले स्थानीय तहको निर्वाचनका सम्बन्धमा उठेका भ्रम चिर्दै निर्धारित मितिमा एकै चरणमा हुने पनि स्पष्ट पारेका छन् ।

बैठकपछि काँग्रेस सभापति शेरबहादुर देउवाले वैशाख ३१ मा कुनै पनि हालतमा निर्वाचन हुने बताउँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा निर्वाचनमा सहभागी हुने निश्चत भए केही स्थानमा दुई चरणमा निर्वाचन गर्न सकिने बारेमा छलफल भएको जानकारी दिए ।

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले मोर्चाले निर्वाचनलाई अवरोध गर्ने गरी विरोधका कार्यक्रम सार्वजनिक गरेको सम्बन्धमा छलफल हुनुका साथै मोर्चालाई सहमति ल्याई निर्वाचनमा सहभागी गराउने विषयमा छलफल भएको बताए ।

निर्वाचनको सुरक्षामा कुनै कमी नरहेको बताउँदै उपप्रधानमन्त्री निधिले भने, “चारै सुरक्षा निकाय तयारी अवस्थामा छन् । कुनै पनी हालतमा वैशाख ३१ मा निर्वाचन हुन्छ ।”

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने र सकेसम्म सबैलाई सहभागी गराउन सत्ता र प्रतिपक्षबाट प्रयत्न गर्ने विषयमा छलफल भएको जानकारी दिए । नेता नेम्वाङले वैशाख ३१ गते एकै दिन एकै चरणमा देशव्यापी रुपमा निर्वाचन सम्पन्न गर्ने निष्कर्षमा बैठक पुगेको बताए ।

पाँच दलले मोर्चा र सङ्घीय गठबन्धन लगायत सबै दललाई निर्वाचनमा सहभागी गराउन अन्तिम समयसम्म सत्ता पक्षले प्रयास जारी राख्ने र त्यसमा प्रतिपक्षले सकारात्मक सहयोग गर्ने निष्कर्ष निकालेका छन् ।

माओवादीका नेता एवम् ऊर्जामन्त्री जनार्दन शर्माले निर्वाचन निर्धारित मितिमा हुने कुरामा कुनै शंका नरहेको बताउँदै मधेस केन्द्रित दल निर्वाचनमा आउने भएपछि तयारीको समय चाहियो भने केही स्थानमा दोस्रो चरणमा पनि निर्वाचन गर्न सकिने बताए ।

बैठकमा माओवादी केन्द्रका तर्फबाट प्रधानमन्त्री दाहाल, जनार्दन शर्मा तथा वर्षमान पुन, काँग्रेसबाट सभापति देउवा, विमलेन्द्र निधि र प्रकाशमान सिंह, एमालेबाट बामदेव गौतम, माधवकुमार नेपाल र सुबास नेम्वाङ, राप्रपाबाट आपूर्तिमन्त्री दीपक बोहरा र फोरम लोकतान्त्रिक तर्फबाट विजयकुमार गच्छदार र रामजनम चौधरी सहभागी थिए ।

मोर्चा र गठबन्धनले निर्वाचनमा सहभागी नहुने अडान राख्दै विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्