९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वैकल्पिक राजमार्ग निर्माणको काम तीव्र



 

९ जेठ, लहान ।
राष्ट्रिय गौरवको योजना मानिएको सुनसरीको धरान–चतरा, गाईघाट–कटारी र सिन्धुली–हेटौँडा सडक आयोजनाको पूर्वी खण्ड निर्माण तीव्र रुपमा अघि बढेको छ ।

भित्री मधेशलाई काठमाडौंसँग जोडने सबैभन्दा छोटो उक्त राजमार्गको सुनसरी, उदयपुर र सिन्धुली खण्डमा सडक संरचना र पुल निर्माण गर्ने काम धमाधम अघि बढेको छ । उदयपुरको चौदण्डीगढी नगरपालिका–४ वीरेन्द्र चोकदेखि सिन्धुलीको भिमान सम्मका विभिन्न भागमा कल्भर्ट र पुलपुलेसा निर्माण भइरहेका छन् ।

डेढ वर्षअघि निर्माण शुरु भएको वैकल्पिक उक्त राजमार्गको करीब ३५ प्रतिशतभन्दा बढी काम पूरा भइसकेको आयोजना कार्यालय गाईघाटले जनाएको छ । धरान–चतरा, गाईघाट–कटारी तथा सिन्धुली–हेटौडा सडक आयोजना पूर्वी खण्डमा १३४ किलोमिटर सडक पर्छ । सडक ११ मिटर फर्मेशन चौडाइ भएको कालोपत्रयुक्त हुने आयोजना कार्यालयले जनाएको छ ।

घरटहराको मुआब्जा निर्धारण, वन क्षेत्रका रूख हटाउने कार्य र पुल निर्माण हुने स्थानमा हुने विवाद मिलान भएसँगै सडक निमार्णले गति लिएको निमार्णाधीन धरान–चतरा, गाईघाट–कटारी र सिन्धुली–हेटौँडा सडक आयोजना पूर्वी खण्ड गाईघाटका आयोजना प्रमुख उमेशविन्दु श्रेष्ठले बताए ।

आर्थिक प्रगति लक्ष्यअनुसार भएका कारण आयोजनाको कामले तीव्रता लिएको हो । हालसम्म भौतिक रूपमा ३५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ । श्रेष्ठका अनुसार सडक विस्तार हुने सिन्धुली क्षेत्रमा मुआब्जा निर्धारण भइसकेको र घरटहराका कारणले काम रोकिने अवस्था अन्त्य भएकोले छिट्टै निर्माण सकिने बताए ।

उदयपुरतर्फको मुआब्जासम्बन्धी फाइल जिल्ला प्रशासन कार्यालयमा पेश गरी सकिएको आयोजना प्रमुख श्रेष्ठले बताए । मुआब्जाको निवेदन दिन छुटेकाका लागि निवेदन दिन र लगत कट्टा गर्न शुरु भइसकेको छ । केही दिन भित्रै मुआब्जाको विषय टुंगिने उनले बताए ।

विभिन्न स्थानमा सडकको सब ग्रेड, सब बेस, होम पाइप, स्लाभ कल्भर्ट, मेसिनरी वाल लगायतका काम भइरहेको निर्माण व्यवसायी जेडआइइसी शर्मा लामा जोइन्ट भेन्चरका डेपुटी कन्ट्याक्ट म्यानेजर इन्जिनियर सीताराम दाहालले बताए । उदयपुरतर्फ निर्माणमा खासै अवरोध नभए पनि सिन्धुलीतर्फ विद्युत्ले पोल हटाउन ढिला गरेको छ ।

सडक योजना तीन वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण गरिसक्ने लक्ष्य राखी २०७३ साल कात्तिक २२ गते निर्माण व्यवसायी जेडआइइसी शर्मा लामा जोइन्ट भेन्चरसँग ७ अर्ब ३६ करोड ९९ लाख ८४ हजारमा ठेक्का सम्झौता भएको थियो ।

राजमार्गले उदयपुरको वेलका नगरपालिका, चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, उदयपुर गढीगाउँपालिका र कटारी नगरपालिकाका स्थानीयवासीलाई फाइदा पुग्नेछ भने सिन्धुलीतर्फ दुधौली नगरपालिका र कमलामाई नगरपालिका हुँदै हेटौँडासम्म सडक पुग्नेछ ।

वैकल्पिक मार्गको निर्माणमा अवरोध नआए निर्धारित समयमै निमार्ण सम्पन्न हुने स्थानीयवासी बताउँछन् । आफ्नै घरआँगनमा राजमार्ग निर्माण शुरु भएसँगै स्थानीयवासी हर्षित छन् । राजमार्ग बनेपछि काठमाडौंसँग सहज यातायातको पहुँच हुनेछ ।
रासस

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार ००:००