८ जेठ, अछाम ।
जिल्लाका १० स्थानीय तह भन्दा साँफेबगर नगरपालिका प्रविधिको प्रयोगमा अगाडि रहेको छ । विद्युतीय हाजिरीदेखि कार्यक्रम र कार्यपालिकाको बैठकको जानकारी दिनुपरेमा मोबाइल सन्देश ९एसएमएस० मार्फत सबैलाई जानकारी गराइन्छ ।
कार्यपालिकाको बैठकमा छलफल हुने विषयका बारेमा पनि कार्यपालिका सदस्यलाई जानकारी गराएर त्यस विषयमा अध्ययन गरेर आउनसमेत एसएमएसमार्फत जानकारी गराइँदै आएको कार्यपालिका सदस्य जयन्ती बोगटीले बताइन् ।
हामीलाई नगरपालिकामा हुने सबै कार्यक्रमको जानकारी एसएमएसमार्फत जानकारी गराइन्छ बोगटीले भनिन्, “हाम्रो नगरले प्रविधिको भरपुर प्रयोग गरिरहेको छ । हामीले प्रविधि प्रयोग गर्नेबारेमा पनि सिकिरहेका छौ ।”
नेपालका चारधाममध्ये एक वैद्यनाथ मन्दिरमा सुशासन पारदर्शिताका लागि समेत सिसीक्यामरा जडान गरिएको छ । मन्दिरमा चढाइएको दान भेटीको पारदर्शिताका लागि सिसीक्यामेरा जडान गरिएको र नगरपालिका–१० घुघुरकोटको बेतालमाडौ उच्च माविमा विद्युतीय हाजिर शुरु गरिएको नगर प्रमुख कुलबहादुर कुँवरले बताए ।
आगामी दिनमा साँफेबगर नगरपालिकाका सम्पूर्ण कार्यालयमा विद्युतीय हाजिर प्रणाली लागू गर्ने प्रमुख कुँवरले बताए । सरकारी विद्यालयमा शिक्षक नियमित उपस्थित नहुने गुनासो आएपछि त्यसको अन्त्य गर्न र स्वास्थ्य क्षेत्रमा सुधार गर्न विद्युतीय हाजिर प्रणाली शुरु गरेको कुँवरको भनाइ छ ।
“नगरपालिकाभित्र कागजको प्रयोग हटाउने तयारीमा छु,” प्रमुख कुँवरले भने, “सहजताका लागि पैसा पनि बोक्न नपर्ने गरी पैसा बैंकमा भएपछि र मोबाइल हातमा भएपछि सबै काम हुने बनाउनेछु ।” अबदेखि नगरभित्र हुने जुनसुकै कार्यक्रम ल्याप्टप र प्रोजेक्टरमार्फत गरिनेछ । नगरले सबैभन्दा पहिले प्रत्येक वडामा वाइफाई जडानका लागि पहल गरिरहेको छ ।”
कार्यालयका कर्मचारी नियमितरुपमा नबस्ने यस्ता खाले जनगुनासो मध्येनजर गरी शिक्षा र स्वास्थ्यजस्तो अति संवेदनशील सेवामा चुस्त, दुरुस्त सेवा प्रवाह गर्नका लागि इलेक्ट्रोनिक हाजिरी प्रणालीले सहयोग पु¥याउने कुरामा जनप्रतिनिधिको विश्वास रहेको छ ।
गाउँपालिकाकी उपाध्यक्ष अञ्जु आचार्यले शिक्षा र स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा कर्मचारीको अनियमितताले खेलवाड भइरहेको विषयलाई अन्त्य गर्न विद्युतीय हाजिरी प्रणाली शुरु गरेको बताइन् ।
११ लाखभन्दा बढी राजश्व संकलन
यसैबीच, जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षको १० महिनामा ११ लाख बढी राजश्व संकलन गरेको छ । कार्यालयले विभिन्न सवारीसाधनलाई कारबाही गरेबापत रकम संकलन गरेको हो ।
जिल्ला ट्राफिक कार्यालय, साँफेबगरका अनुसार २३४ वटा बसलाई कारबाहीबाट १ लाख ३९ हजार, २२४ ट्रक कारबाहीबाट १ लाख ३४ हजार ५००, ६५२ वटा जिपलाई कारबाहीबाट ३ लाख ६३ हजार, ३२० ट्रयाक्टरलाई कारबाही गर्दा १ लाख ९५ हजार र ५५७ वटा मोटरसाइकललाई कारबाही गर्दा ३ लाख २१ हजार राजश्व संकलन गरिएको हो ।
गत आवमा एक हजार ६४८ सवारी कारबाहीमा १० लाख नौ हजार ५०० संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय साँफेबगरका इञ्चार्ज कर्ण चुनाराले जानकारी दिए । प्रहरीका अनुसार विभिन्न २७ वटा सवारी दुर्घटनामा परी ३ जनाले ज्यान गुमाएको, पाँचजना गम्भीर घाइते भएका र ४२ जना सामान्य घाइते भएका छन् ।
चालू आवको १० महिनामा २७ सवारी दुर्घटनामा परेकामध्ये पाँचवटा ट्रक, आठवटा जिप, आठवटा ट्रयाक्टर र छवटा मोटरसाइकल रहेका छन् । दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये दुई महिला र एक पुरुष रहेका छन् । घाइते ४२ जनामध्ये छजना महिला र ३६ जना पुरुष रहेको कार्यालय प्रमुख चुनाराले जानकारी दिए ।
रासस




प्रतिक्रिया