५ जेठ, बुटवल ।
तिलोत्तमा नगरपालिकाले सार्वजनिक महत्वका कार्यक्रम सञ्चालन तथा व्यवस्थापन निर्देशिका जारी गरेको छ । नगरपालिकाभित्र सञ्चालन हुने सबै प्रकारका सार्वजनिक महत्वका कार्यक्रमलाई उपलब्धिमूलक, मितव्ययी, छिटोछरितो र समयसापेक्ष बनाउन निर्देशिका जारी गरिएको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।
नगर कार्यपालिकाको २२ औँ बैठकबाट पारित निर्देशिका स्थानीय राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ । निर्देशिकामा कार्यक्रम तोकिएको समयमै शुरु गर्नुपर्ने, वक्ताले सम्बन्धित विषयमा बुँदागत रुपमा मन्तव्य राख्नुपर्ने, उद्घोषकले आफ्नो मन्तव्य नराखी कार्यक्रम मात्र सञ्चालन गर्नुपर्ने, एउटा वक्ताले गरेको कुरा अर्को वक्ताले दोहो¥याउन नहुने उल्लेख गरिएको छ ।
मञ्चमा अध्यक्ष, प्रमुख अतिथि र वक्ता अतिथिलाई मात्र स्थान दिनुपर्ने, स्वागत तथा सम्मानका लागि स्थानीयस्तरमा उपलब्ध हुने फूलको माला तथा गुच्छाको मात्र प्रयोग गर्नुपर्ने पनि निर्देशिकामा उल्लेख छ ।
साधारणसभा, अधिवेशन लगायत संस्थाको आन्तरिक विषयमा बढी केन्द्रित हुनुपर्ने, कार्यक्रमको उद्घाटन सत्र बढीमा डेढ घण्टामा सक्नुपर्ने, विद्यालयले अतिथिको स्वागत तथा सत्कारका लागि विद्यार्थीलाई उभ्याउन नपाउने पनि निर्देशिकामा उल्लेख छ ।
निर्देशिकाको पालना नगरपालिका र यस अन्तर्गतका सम्पूर्ण कार्यालय, सरकारी, सामुदायिक, गैरसरकारी सबै निकाय, संघसंस्था, क्लब, सहकारी, वन, शिक्षण संस्था, टोल विकास संस्था लगायतले गर्ने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको २२ औँ बैठकले नगरभित्र निर्माण हुने भवनको नक्सा, खेल मैदान, विपद् व्यवस्थापन समिति गठन, सांस्कृतिक भवन निर्माण, चक्रपथको रुट, ‘अटोजोन’ लगायत अन्य विषयमा महत्वपूर्ण निर्णय गरेको कार्यपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिए ।
रासस
प्रतिक्रिया