८ बैशाख २०८१, शनिबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

व्यापारिक मार्ग विस्तारमा जितपुर बजार बाधक



४ जेठ, वीरगञ्ज ।
पथलैयादेखि परवानीपुर हुँदै एकीकृत जाँच चौकी आइसिपी सम्म २७ किलोमिटर ६ लेनको व्यापारिक मार्ग निर्माणमा जितपुर बजार बाधक रहेको छ ।

व्यापारिक मार्ग विस्तार आयोजना वीरगञ्ज पथलैया कार्यालयका अनुसार सो सडक निर्माणको क्रम अगाडि बढिसके पनि जितपुर बजारवासीलाई सडक क्षेत्रमा पर्ने घर टहरा तथा भौतिक संरचनाहरु भत्काउन बारम्बार सूचना जारी गरे पनि अटेर गरेकाले सो व्यापारिक मार्ग निर्माण कार्य अगाडि बढाउन स्थानीय प्रशासनको सहयोगमा वैशाख १० गतेभित्र डोजर लगाएर भत्काउने भएको छ ।

केन्द्रबिन्दुबाट दायाँबायाँ २५ २५ मिटर सडक विस्तार गर्दा जितपुर बजार क्षेत्रको एक हजार १०० मिटरमा ठूला साना गरी २०९ वटा घर भत्काउनु पर्ने बताउँदै योजना प्रमुख रवीन्द्रलाल दासले पथलैया परवानीपुर देखि आइसिपी सम्म २७ किलोमिटरमध्ये १ हजार १०० मिटरमा रहेको घर टहरा बलपूर्वक भए पनि भत्काउने बताए ।

पथलैया वीरगञ्ज औद्योगिक करिडोरदेखि आइसिपी सम्म सरकारले २०७३ असार २९ देखि निर्माण शुरु गरेको सो व्यापारिक मार्ग २०७५ पुस मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिए पनि जितपुर बजारवासीले समयमा सो सडक खाली नगर्दा योजनाको काम प्रभावित हुने सम्भावना बढेर गएको छ ।

सरकारको ३ अर्ब ५३ करोडको लागतमा निर्माण भइरहेको सो व्यापारिक मार्ग क्षेत्रमा १ अर्बको लागतमा ३ वटा पुल निर्माण हुने इन्जिनियर अशोक यादवले बताए । पहिलो चरणको योजनाअनुसार ६ लेन सडक त्रिभुवन राजपथमा पर्ने पर्साको लिपनीविर्ताको परवानीपुरदेखि नयाँ बाइपास हुँदै अलौँस्थित आइसिपीमा जोडिएको छ ।

यस सम्बन्धमा जितपुर सिमरा उपमहानगरपालिकाका प्रमुख डा कृष्ण पौडेलले बाटो विस्तारको काममा प्रतिबद्ध रहेकाले जितपुर बजारलाई के गर्न सकिन्छ आवश्यक छलफलको माध्यमबाट अगाडि बढ्ने बताए ।

जितपुर सिमरा उपमहानगरपालिका– ७ स्थित जितपुर बजारको २५ मिटरभित्रको संरचना हटाउन सडक विभागले चासो बढाएपछि जितपुरवासी त्रसित छन् । सो योजनाअन्तर्गत पथलैया वीरगञ्ज व्यापारिक मार्गको मध्यबिन्दुमा रहेको जितपुर बजारबाहेक पथलैया सिमरालगायत बजार क्षेत्रमा रहेका स्थानीयवासीले विकासको काम भन्दै आफैँ आफ्नो घर टहरा तथा संरचना हटाएपछि जितपुरबाहेकका क्षेत्रमा ६ लेनको सडक विस्तारको काम तीव्र गतिमा भइरहेको छ ।
रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७५, शुक्रबार ००:००