११ बैशाख २०८१, मंगलबार | Wed Apr 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अविरल वर्षाका कारण बगेको नहर डेढ दशकपछि मर्मत



प्रेम रौल
४ जेठ, बाजुरा ।

जिल्लाको बडिमालिका नगरपालिका ७ रजातोलीको माथिल्लो खेतमा डेढ दशकदेखि सिँचाइ हुन सकेको छैन । गाउँ नजिकैको खोलाको पानी सिँचाइ गर्न कुलो निर्माण गरिएको भए पनि २०६१ भदौमा भएको अविरल वर्षाका कारण नहर बगाएपछि स्थानीयवासीले माथिल्लो खेतमा १४ वर्षदेखि धानखेती लगाउन नपाएका हुन् ।

सिँचाइ कुलो मर्मत भएपछि अहिले स्थानीय किसानले धानखेती गर्न पाउने भएका छन् । डेढ दशकभन्दा अघिसम्म धानखेती गर्न नपाएका रजातोलीवासीले यस वर्ष सहज रुपमा रोपाइँ गर्न पाउने भएपछि निकै खुशी देखिएका छन् । यसभन्दा पहिलेका वर्षमा सबै खेतमा कोदोमात्र लगाउने र धान रोपाइँ हुन नसकेको स्थानीयवासी देवराज पाध्यायले बताए ।

असारमा धान रोप्न पाउने भएपछि सबै किसानले धानको बेर्नासमेत लगाइसकेका बडिमालिका–७ का वडाध्यक्ष धर्मराज पाध्यायले बताए । जिल्ला सिँचाइ सबडिभिजन कार्यालय बाजुराको आयोजनामा सिँचाइ कुलो मर्मत गरेपछि यो वर्षदेखि धान रोप्ने तयारीमा स्थानीयवासी रहेको वडाध्यक्ष पाध्यायले बताए ।

जिल्ला सिँचाइ सबडिभिजन कार्यालय बाजुराको १ करोड ६० लाख ६७ हजारको लगानीमा निर्माण गरेपछि रजातोलीका १०२ घर परिवारभन्दा बढी परिवार लाभान्वित हुने जिल्ला सिँचाइ सबडिभिजन कार्यालयका प्रमुख छविराज जोशीले बताए । रजातोलीमा ६८० जनसंख्या छ । डेढ सय मिटर लामो पक्की सिँचाइ कुलो बनाइसकिएकाले यो वर्ष ७०० रोपनी जमिन सिँचाइ हुने भएको छ ।

तीन वर्षदेखि सञ्चालन गरिएको ऋषिमाण्डौ सिँचाइ योजना सम्पन्न हुने चरणमा पुगेकाले यो असारमा नै रोपाइँ गर्न सकिने कार्यालय प्रमुख जोशीको भनाइ छ । योजनाको पूरा काम गर्न यो वर्ष नसकिए पनि खेतमा पानी पुग्ने गरी काम गराइएको ऋषिमाण्डौ सिँचाइ योजनाका अध्यक्ष धनलाल पाध्यायले बताए ।

बडिमालिका ७ मा मात्र ३ वटा सिँचाइ योजनामा सञ्चालनमा रहेको सिँचाइ कार्यालय बाजुराले जनाएको छ । रजातोलीको माथिल्लो खेतमा धेरै उब्जाउ हुने भए पनि सिँचाइ नहुँदा हिउँदे बालीसमेत सुक्ने गरेको थियो । सिँचाइ सुविधा भएपछि हिउँदेबाली पनि राम्रो हुने रजातोलीका किसानको भनाइ छ ।

सिँचाइ कुलो शुरु भएपछि तरकारीखेती पनि राम्रो हुने जिल्ला सिँचाइ कार्यालय बाजुराले जनाएको छ । सडक सञ्जाल पुगिसकेको हुनाले यहाँ अन्य खेतीभन्दा पनि तरकारीखेतीतिर किसानलाई आकर्षक गर्न आवश्यक रहेको छ ।

खडेरीले प्रभावित बन्दै गएको उत्तरी भेगको बूढीनन्दा नगरपालिकाको स्यालकाटिया खोलादेखि वीरसैनसम्मको सिँचाइ कुलो, स्वामीकार्तिक गाउँपालिकाको साप्पाटामा समेत सिँचाइ कुलो निर्माण गरिएको सिँचाइ सबडिभिजन कार्यालयका प्रमुख छविराज जोशीले जानकारी दिए ।
रासस

प्रकाशित मिति : ४ जेष्ठ २०७५, शुक्रबार ००:००