२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुरमा दलहरु उम्मेदवार तय गर्दै



भक्तपुर, ४ वैशाख । स्थानीय निकायको निर्वाचन नजिकिएसंगै भक्तपुरका राजनीतिक दललाई उम्मेदवार छान्न भ्याइनभ्याई भएको छ । दलहरु वडा वडाबाट उम्मेदवारको नामावली संकलन गर्दै जिल्लामा पठाउने काममा व्यस्त छन् ।

नेपाली काँग्रेस, नेकपा एमाले, नेमकिपा, नेकपा माओवादी केन्द्र, राप्रपा, नेकपा माले लगायतका पार्टीले दैनिक कार्यकर्ता भेला एवं वडा भेला गर्दै उम्मेदवारको नामावली संकलन गर्ने र माथिल्लो निकायमा पठाउने काम सुरु गरेका छन् ।

नेपाली कांग्रेस जिल्ला सभापति दुर्लभ थापाले वडा वडामा कार्यकर्ता भेला गर्दै वडादेखि नगरपालिकासम्मका उम्मेदवारको नामावली पठाउन सुरु गरेको बताए । उनले भने, “वडाले नगर, नगरले क्षेत्र र क्षेत्रले जिल्लामा उम्मेदवारको आकांक्षीको नामावली पठाउने क्रम जारी छ र केही दिनभित्रै सबै नगरपालिकादेखि वडासम्मको नामावली आइपुग्ने छ ।”

उनका अनुसार वडाका उम्मेदवारको टुंगो कांग्रेसको क्षेत्र नं १ र २ ले गर्न नसके मात्र जिल्लामा पठाउन भनिएको र केही दिनभित्रै सबै उम्मेदवारको टुंगो लाग्नेछ । कांग्रेसमा उम्मेदवारका आकांक्षी धेरै भए पनि सिफारिस भइआएका नामावलीलाई बिना विवाद टुंगोमा पुर्याउने कसरतमा कांग्रेस लागिपरेको छ ।

एमालेले पनि गाउँ गाउँमा वडा कार्यकर्ता भेला गर्दै उम्मेदवारको नामावली तय गर्ने र माथिल्लो निकायमा पठाउने कार्यलाई तीव्रता दिएको छ । एमाले भक्तपुरका अध्यक्ष राजेन्द्र राजथलाले वडा वडाबाट उम्मेदवारको नामावली सर्वसम्मत रुपमा आउने क्रम जारी रहेको बताए । वडादेखि नगर कमिटीले समेत आकांक्षी तीन जनाका दरले उम्मेदवारको नामावली पठाएको र केही दिनभित्रै नामावलीको टुंगो लाग्ने बताए ।

माओवादी केन्द्र भक्तपुर जिल्ला संयोजक डिपी ढकालले निर्वाचनको तयारीका लागि चारवटै नगरपालिकाको गाउँगाउँमा कार्यकर्ता प्रशिक्षण देखि उम्मेदवार छनोट गर्नेसम्मका काम भइरहेको बताए ।

नेपाल मजदुर किसान पार्टीले पनि गाउँगाउँमा गएर कार्यकर्ता प्रशिक्षण र उम्मेदवारको आकांक्षीको नाम संकलन गर्ने काम थालेको छ । पार्टीका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठका अनुसार वैशाख १० गतेसम्म कसरी जाने र क–कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय भइसक्नेछ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी एकीकरण संगै कार्यकर्तामा उत्साह थप्दै निर्वाचनका कार्यक्रम तीव्र रुपमा अगाडि बढाएको राप्रपा केन्द्रीय सदस्य रवीन्द्रप्रताप शाहले जानकारी दिए । उनले भने, “उम्मेदवारको नामावली छनोट गर्ने र कार्यकर्तालाई प्रशिक्षण दिने कामलाई तीव्र पारेका छौँ । केही दिनभित्रै सबै उम्मेदवारको छनोट टुंग्याएर चुनावी प्रचार अभियानलाई तीव्र पार्छौं ।”

मालेका केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष अदीपकुमार खड्काले चुनावको तयारीमा पार्टी होमिइसकेको र उम्मेदवार छनोटका लागि पार्टीले वडा वडाबाट नाम मागिसकेको बताए ।   रासस

प्रकाशित मिति : ४ बैशाख २०७४, सोमबार ००:००