९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दाङ–सुर्खेत सडकखण्डको स्तरोन्नतिको काम तीव्र



बालाराम खड्का
३० वैशाख, दाङ ।
बाइस वर्षदेखि ओझेलमा परेको दाङ–सुर्खेत जोड्ने करीब ६२ किलोमिटर सडकको स्तरोन्नतिको काम चालु आर्थिक वर्षमा तीव्र गतिमा अगाडि बढेको छ ।

अघिल्ला वर्षभन्दा यस वर्ष विशेष रुपमा बजेट समेत वृद्धि भएपछि निर्माणको कामले गति लिँदा पक्की सडकको यात्राको प्रतीक्षामा रहेका पश्चिम दाङवासी आशावादी बनेका छन् । सो सडक पछिल्लो समयमा प्रदेश नं ५ र ६ लाई जोड्ने लिङ्करोडका रुपमा समेत मानिन्छ ।

दाङको समृद्धिका रुपमा लिइएको सो सडकको कालोपत्रेको काम तीव्र गतिमा भएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ । विभिन्न चार तहमा काम शुरु भएको सडक डिभिजन कार्यालय दाङका सूचना अधिकारी दुर्गा गौतमले जानकारी दिए ।

सडक स्तरोन्नतिको जिम्मा पाएको कालिका कन्स्ट्रक्सन प्रालिले चालु आवसम्म करीब १० किलोमिटर बाटो कालोपत्रे गरिसक्ने र डेढ वर्षभित्र दाङ, सल्यान र सुर्खेतसम्म जोड्ने बाटो निर्माण हुने बताएको छ ।

पोटलीदेखि वागर र रगैजादेखि बहुला खोलासम्मको छ किलोमिटर सडक पनि कालोपत्रे शुरु भएको सडक डिभिजन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार चालु आवसम्म पुरन्धारासम्म सडक कालोपत्रे हुने छ ।

पुरन्धारादेखि दाङ र सल्यानको एक्लेवर सम्मको सडकमा सडक फराकिलो गर्ने काम चलिरहेको बताइएको छ । चार चरणमा हुने सडक कालोपत्रेको काम पोटलीदेखि हापुरेसम्म १४ करोड, हापुरेदेखि एकलेवरसम्म २० करोड र एकलेवरदेखि सल्यानका काल्चेसम्म साढे ४४ करोड गरी करीब ७५ करोडमा सडक स्तरोन्नतिको काम शुरु भएको सूचना अधिकारी गौतमले बताए ।

त्यसैगरी सल्यान–दाङको सिमाना एक्लेवरसम्म विभिन्न स्थानमा नाला निर्माण र साढे पाँच मिटरको बाटो चौडा गराउने काम शुरु भएको बताइएको छ । त्यसैगरी एक्लेवरदेखि सल्यानको काल्चेसम्मको सडकमा नालीसेतु निर्माण र पर्खाल लगाउने काम पनि तीव्र रुपमा अगाडि बढेको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।

कालिका कन्स्ट्रक्सनले आगामी २०७७ असारसम्ममा सडक कालोपत्रेको काम सम्पन्न गर्ने गरी सम्झौता गरेको छ । ‘‘सडक निर्माणको काम तीव्र रुपले अगाडि बढेको छ तर विभिन्न सडकखण्डमा वनको जग्गा परेकाले अलि काममा अवरोध भएको छ” गौतमले भने । वन कार्यालयले समयमै सडक वरपर क्षेत्रमा पर्ने रुख नहटाउँदा काममा बाधा पुग्ने देखिएको बताएको छ ।

“सम्भवतः काममा कुनै अवरोध नभए एक, डेढ वर्षमा सबै काम सम्पन्न हुनेछ” गौतमले भने । दाङ, सल्यान र सुर्खेत गरी प्रदेश नं ५ र ६ लाई जोड्ने यो करीब ६२ किलोमिटर बाटो कालोपत्रे भएमा सुर्खेतसम्म करीब चार घण्टामै पुग्न सकिने र सडक जोडिएसँगै दाङको समृद्धिको ढोका खोल्ने बताएको छ । यो सडक स्तरोन्नति भए यहाँबाट सुर्खेत, कालीकोट, जुम्ला र मुगुको रारासम्म पुग्न सहज हुने बताइएको छ ।

सो सडकखण्डमा पहिले यात्रा गर्दा मानिस चिन्न नसक्ने गरी धुलो उड्ने र यात्रा जोखिम हुने गरेको यात्रु बताउँछन् । हाल बाटो सहज हुँदा भने उनीहरु खुशी व्यक्त गर्छन् । “यस्तो सडक बन्ला भनेर हामीहरुको कल्पना नै थिएन तर हाल सडक धेरै सुधार भएको छ, अब कालोपत्रे भयो भने दाङको पनि विकास हुन्छ, प्रदेश नं ५ र ६ जोड्ने यो सडक बन्नु सबैका लागि राम्रो हो”, स्थानीयवासी जसराज विकले भने । हाल दाङ–सुर्खेत सडकखण्डको निर्माण तीव्र गतिमा भएपछि पश्चिमवासी खुशी भएका छन् ।

“यसले दाङको समृद्धिको ढोका खोल्छ अबको एक दुई वर्षमै यस क्षेत्रको विकास हुनेछ” सल्यान कालीमाटी निवासी चन्द्रिका घर्तीले भने । त्यसैगरी सो सडकखण्डमा सवारी साधन सञ्चालन गर्दै आएका निमाराम वलीले पनि पहिलेभन्दा सयौँ गुणा सडकको सुधार भएको बताए ।

“कति दिन गाडीको पट्टा भाँचिएर बाटोमा समस्या हुने गर्थ्यो, आजभोलि गाडी सञ्चालन गर्न सहज छ, चार घण्टामै सुर्खेत पुग्न सकिन्छ, यो सडकखण्ड धेरै छोटो र राम्रो छ” यातायात व्यवसायी भीमसेन लहरेले भने ।

कुनै समय दाङ–सुर्खेतको यात्राका लागि एक दिन समय खर्चनुपर्ने समस्या थियो । समयसँगै बाटाको अवस्था दयनीय हुँदा यात्रु तथा यातायात व्यवसायीले हैरानी व्यहोर्नुपर्ने समय थियो । ठाउँ ठाउँमा यात्रु ओराल्नुपर्ने र गाडीमा चढेका यात्रु धुलाम्मे हुने समस्या थियो तर हिजोआज भने सो सडकखण्डमा यात्रा गर्ने यात्रुलाई सहज भएको छ ।

साथै पश्चिम दाङ र पूर्वी सुर्खेतवासीबीच भएको रोटीबेटीको सम्बन्धलाई समेत सो सडकले थप सहज बनाउने बताइएको छ ।
रासस

प्रकाशित मिति : ३० बैशाख २०७५, आइतबार ००:००