७ माघ २०८१, सोमबार | Tue Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्खामा सडक सहज बनाउन निर्देशन



२८ वैशाख, त्रिशूली– नुवाकोट ।
बर्खाका सयममा सबै सडकमा सहज रुपमा यातायात सञ्चालन गराउन स्थानीय प्रशासनले सरोकार भएका निकायलाई निर्देशन दिएको छ । नुवाकोटलाई राजधानी काठमाडौंसँग जोड्ने तीन नाकाका सडकमा अहिले स्तरोन्नतिको काम भइरहेको र सामान्य वर्षामा समेत सवारी चलाउन समस्या आउन थालेकाले आउँदो वर्षात्लाई ध्यानमा राखेर पूर्वतयारी गर्न जिल्ला प्रशासन कार्यालयले निर्देशन दिएको हो ।

जिल्लामा मुख्य सडक गल्छी–त्रिशूली सडक, बालाजु–ककनी–पीपलटार, टोखा–छहरे–गँगटे, पाटीभञ्ज्याङ–छहरे, विदुर–नुवाकोट–बागेश्वरी र डेउडी–सामरी सडक स्तरोन्नति भइरहेको छ । सडक सञ्चालन गराउनका लागि आवश्यक पूर्वतयारी तत्काल थाल्न सडक निर्माण योजनाका प्रमुख तथा डिभिजन सडक कार्यालय सक्रिय भएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले बताए ।

गल्छी –त्रिशूली– मैलुङ– स्याफ्रु– रसुवागढी सडक योजनामा प्रमुख सुवोध देवकोटाले सडक बर्खामा पनि सहज रुपमा सञ्चालन गर्नका लागि काम भइरहेको बताए । देवकोटाले भने, “गल्छीदेखि बेत्रावती खण्डका नौ ठाउँमा अलि बढी समस्या रहेको छ । यसलाई निर्माण गरी बर्खामा समस्या आउन दिँदैनौं ।”

गल्छी–त्रिशूली–मैलुङ सडकको ४६ किलोमिटर स्तरोन्नतिको काममा अहिलेसम्म १८ प्रतिशत मात्र सम्पन्न भएको छ । बर्खाअघि नै १० किलोमिटर कालोपत्रे गरिसक्ने योजना प्रमुख देवकोटाले जानकारी दिए ।

बालाजु–ककनी–पीपलटार र छहरे–वराफेदी सडक हेर्ने योजनाका प्रमुख नीरज शर्माले काम तीब्र गतिमा भइरहेको र बर्खामा समस्या हुन सक्ने स्थानको पहिचान गरी काम गरिएको जानकारी दिए । नुवाकोटमा पुष्पलाल मध्यपहाडी राजमार्गको ७० किलोमिटर पर्नेमा अहिले काम भइरहेको पार्टीभञ्ज्याङ–छहरे खण्डमा कालोपत्रे गरिने साइड इञ्जिनीयर जयनाथ यादवले जानकारी दिए ।

नेपाली कांग्रेसका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीले एक दिन पानी पर्दा गल्छी–त्रिशूली सडक १८ घण्टासम्म जाम हुने अवस्था रहेकाले यसलाई तत्काल समाधान गर्नुपर्ने बताउछन् ।

नेकपा एमाले का जिल्ला सचिव बुद्धि प्रधान पनि वैशाखको पानीमा बेहाल हुने सडकलाई असार, साउन र भदौमा हुन सक्ने विपद्लाई पूर्वानुमान गरी काम नगर्ने हो भने नुवाकोट र रसुवाका नागरिकले सडककै कारण धेरै दुःख पाउने भएकाले स्थानीय प्रशासनले यसलाई गम्भीर रुपमा लिनुपर्ने बताए ।
रासस

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार ००:००