१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

न्यायिक समितिमा स्थानीय मुद्दाको चाप बढ्याे



२८ वैशाख, रुपन्देही ।
नगरपालिका र गाउँपालिकाका उपप्रमुख र उपाध्यक्षको नेतृत्व रहेको न्यायिक समितिमा स्थानीय मुद्दाको चाप बढ्दै जान थालेको छ ।

त्यस्ता समितिमा खास गरी अंशबण्डा, घरेलु हिंसा, सम्बन्धविच्छेद, जग्गासम्बन्धी विवाद, ठगी मुद्दा, पैसाको लेनदेन लगायतका मुद्दाको ओइरो लागेको सम्बन्धित नगरपालिका र गाउँपालिकाले जनाएका छन् ।

“स्थानीय तहमा न्याय सम्पादन हुन्छ भन्ने विषयमा जनतालाई विश्वास छ, त्यसैले पनि मुद्दाको चाप बढ्दै गएको छ” रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वर चौधरीले भनिन् ।

उनले भनिन्–“अदालतमा जाँदा धेरै पैसा खर्च हुने भएकाले मेलमिलापबाट नै स्थानीय मुद्दाको निरुपण भएको चाहन्छन् ।” स्थानीय तहमा मेलमिलापको माध्यमबाट विभिन्न प्रकारका मुद्दाको टुंगो लगाउने बताइएको छ ।

सो नगरपालिकामा दर्ता भएका ५५ वटा मुद्दामध्ये अहिलेसम्म २९ वटा मुद्दा समाधान भएका छन् । ती मुद्दा अंशवण्डा, सम्बन्धविच्छेद, झै–झगडा, घरेलु हिंसा लगायतका रहेका छन् । दर्ता भएका मुद्दामध्ये नौ वटा माथिल्लो निकायमा र सातवटा मुद्दा वडा कार्यालयमा पठाएको छ ।

त्यस्तै सैनामैना नगरपालिकामा पनि मुद्दाको चाप बढी देखिएको छ । नगरपालिकामा जग्गासम्बन्धी, पैसा लेनदेन, घरेलु हिंसा, सम्बन्धविच्छेद, अन्तरजातीय विवाह लगायतका २६ मुद्दा दर्ता भएका छन् ।

यीमध्ये केही अदालतमा गएकाले न्यायिक समितिको क्षेत्राधिकारभित्र नपर्ने र केही मुद्दा वडा कार्यालयमा पठाइएको सैनामैना नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक बिना रानाले जानकारी दिइन् । उनका अनुसार नगरपालिकामा दर्ता भएका मुद्दामध्ये ५ वटा मुद्दाको अन्तिम निर्णय भएको छ ।

यस्तै शुद्धोदन गाउँपालिकामा दर्ता भएका ६० वटा मुद्दामध्ये अधिकांश मेलमिलापको माध्यमबाट समाधान भएका छन् । गाउँपालिकाकी उपाध्यक्ष शान्ता ज्ञवालीले मुद्दाको चाप बढेको जानकारी दिँदै अझैपनि तीनवटा मुद्दा बाँकी रहेको बताइन् ।

सो गाउँपालिकामा पनि अंशबण्डा, साँधसंधियार, घरेलु हिंसा, झै–झगडा लगायतका मुद्दा न्यायिक समितिमा दर्ता भएका छन् ।

संविधानको धारा २१७ बमोजिम नगरपालिकाका उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षको संयोजकत्वमा तीन सदस्य न्यायिक समिति रहने व्यवस्था रहेको छ । उक्त समितिमा गाउँसभा र नगरसभाले आफूमध्येबाट निर्वाचित गरेका २ जना सदस्य रहन पाउने व्यवस्था छ ।
रासस

प्रकाशित मिति : २८ बैशाख २०७५, शुक्रबार ००:००