२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बैतडीको दोगडाकेदार गाउँपालिकामा सिसीटिभी र इ–हाजिरी



२१ वैशाख, बैतडी ।
भ्रष्टाचारमुक्त र जनतामुखी गाउँपालिका बनाउने उद्देश्यले बैतडीको दोगडाकेदार गाउँपालिकाले कार्यालयमा सिसीटिभी क्यामेरा जडान गरेको छ ।

कर्मचारीलाई जनताको सेवामा बफादार तथा जनतालाई दिइने सेवा छिटो छरितो प्रदान गर्ने उद्देश्यले सिसीटिभी क्यामेरा जडान गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिए । नागरिकसँग प्रत्यक्ष सम्बन्ध रहेको गाउँपालिका कार्यालयमा शान्ति, सुरक्षा र कर्मचारी गतिविधि निगरानीका लागि सिसीटिभी क्यामेरा जडान गरिएको उनले बताए ।

गाउँपालिकाका विभिन्न शाखा तथा फाँटमा गरी आठवटा क्यामेरा जडान गरिएको जनाइएको छ । सिसीटिभी क्यामरा जडानले कार्यालयको सुरक्षा र कर्मचारी लापर्बाही नियन्त्रणमा आउने गाउँपालिकाको अपेक्षा रहेको छ ।

क्यामेराका गतिविधिका आधारमा सेवाग्राहीले सहजरूपमा सेवा पाए नपाएको सबै हेर्ने र त्यसका आधारमा सेवालाई सहज बनाउन कर्मचारीलाई त्यसैअनुसार तयार गर्ने गाउँपालिका अध्यक्ष कार्कीको भनाइ रहेको छ ।

क्यामेरा जडानले कामप्रति कर्मचारीलाई बढी जवाफदेही र उत्तरदेही बनाउनुका साथै यसबाट सेवाग्राहीलाई पनि सेवा पाउन सहजता हुने विश्वास गरिएको छ ।

इ–हाजिरीको शुरुवात

कर्मचारी तथा जनप्रतिनिधिलाई समयको पालना गराउनका लागि र उपस्थिति पारदर्शी बनाउन दोगडाकेदार गाउँपालिकाले पहिलोपटक इ–हाजिरी अर्थात् इलेक्ट्रोनिक हाजिरी प्रयोगमा ल्याएको छ ।

अनुशासन र समयको पालना गराउन साथै मर्यादित बनाई सेवालाई दु्रतगतिमा अगाडि बढाउनका लागि इ–हाजिरीको व्यवस्था गरिएको दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले जानकारी दिए । इ–हाजिरी प्रयोगमा ल्याइसकेपश्चात् कार्यालयमा उपस्थित नभएर अर्को दिन हाजिर गर्ने, समयमा कार्यालय नआउने, कार्यालय समयअगावै घर जाने कर्मचारी निरुत्साहित हुने बताइएको छ ।

रजिष्टरको हाजिरी हुँदा कर्मचारी एक्कै छिन फुर्सद हुँदा कार्यालय निस्की हाल्ने प्रवृत्तिको अन्त्य भएको र कर्मचारी कामप्रति बफादार भएर काम गर्ने गाउँपालिकाले अपेक्षा गरेको छ ।
रासस

प्रकाशित मिति : २१ बैशाख २०७५, शुक्रबार ००:००