८ बैशाख २०८१, शनिबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीनदिने ‘विहाबर क्षेत्र पर्यटन महोत्सव २०७५’ शुरु



१५ वैशाख, बनेपा ।
कुशादेवी क्षेत्र सरोकार विकास समाजले शनिबारदेखि शुरु गरिएको तीनदिने ‘विहाबर क्षेत्र पर्यटन महोत्सव–२०७५’ आज शनिबार देखि शुरु भएको छ ।

आज काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ गुर्दुमडाँडामा कार्यक्रम गरी संघीय सांसद गंगाबहादुर तामाङले पाइलटहरूलाई खादा लगाएर स्वागत गर्दै महोत्सवलाई प्याराग्लाइडिङ उडानबाट उद्घाटन गरेका हुन् । तामाङले प्याराग्लाइडिङ पाइलट पेम्बा शेर्पा र मदन राई लगायतलाई स्वागत गरेका हुन् ।

सो अवसरमा सांसद तामाङले कुशादेवीको पर्यटन विकासको लागि गुर्दुमडाँडा उपयुक्त भएकाले त्यसको विकास गर्नका लागि सबै लाग्नुपर्ने बताए । जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकका अध्यक्ष उद्धव केसीले गुर्दुमडाँडा आन्तरिक पर्यटकहरूका लागि उपयुक्त ठाउँ भएकाले नगरको मात्रै नभई सिङ्गो जिल्लाको नै शान भएको बताए ।

कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले गुर्दुमडाँडा व्यावसायिक प्याराग्लाइडिङ उडानको उपयुक्त ठाउँ भएको बताए । “अहिले महोत्सव अवधिभर परीक्षण उडानका लागि मात्रै अनुमति लिएका छौं, त्यसपछि व्यावसायिक उडान गर्न संस्था दर्ता भएपछि यो अगाडि बढ्छ” प्रमुख न्यौपानेले भने ।

दूई हजार सातसय मिटरको उचाइमा रहेको उक्त डाँडाबाट हिमालका दृश्यहरू समेत अवलोकन गर्न सकिन्छ । सो क्षेत्र महाभारत श्रृंखलामा पर्ने भएकाले २८० प्रजातिका चराचुरुङ्गी, वन्यजन्तुहरूको वासस्थान रहेकाले पर्यटन क्षेत्रको विकासका लागि थप आकर्षणको केन्द्र बन्ने आधार रहेका छन् ।

महोत्सवको उद्घाटनमा झाँक्री नाच, लामा नाच, लगायतका स्थानीय बाजागाजा सहित कुशादेवी बजारदेखि गुर्दुमडाँडासम्म पैदल यात्रा गरिएको थियो । महोत्सवमा स्थानीय सामग्रीहरू, कृषि उत्पादन, स्थानीय जडिबुटी, घरेलु उत्पादनका स्टलहरू राखिएका छन् । आयोजकका अनुसार एक लाखभन्दा बढीले महोत्सवको अवलोकन गर्नेछन् ।
रासस

प्रकाशित मिति : १५ बैशाख २०७५, शनिबार ००:००