१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निस्कोटको बराह ताल जाने पदमार्ग निर्माण शुरु



१५ वैशाख, बाबियाचौर– म्याग्दी ।
मालिका गाउँपालिका–१ निस्कोटदेखि पर्यटकीय महत्वको बराह ताल जोड्ने पदमार्ग निर्माण कार्य शुरु भएको छ । गाउँपालिकाको सहयोगमा स्थानीयवासीले उपभोक्ता समितिमार्फत निस्कोट देखि बराह ताल जाने बाटोमा व्यवस्थित पदमार्ग निर्माण शुरु गरेका हुन् ।

यस वर्ष गाउँपालिकाको पाँच लाख अनुदानमा निस्कोटदेखि सिद्ध मन्दिरको छेउसम्म ४३० मिटर पदमार्ग निर्माण भएको वडाध्यक्ष टंक पुनले जानकारी दिए ।

साढे चार फुट चौडाइ भएको ढुङ्गाको सिँढीसहितको पदमार्ग निर्माण भएको हो । त्रिपन्न घरधुरी उपभोक्ताले दुई दिनका दरले श्रमदान गरेका थिए । आगामी वर्ष थप ३९० मिटर पदमार्ग निर्माण गरेपछि तालसम्म जोडिने वडाध्यक्ष पुनले बताए । पदमार्ग निर्माण भएपछि गाउँमा पुग्ने आन्तरिक तथा बाह्य पर्यटक र स्थानीयवासीलाई आवतजावतमा सहज भएको छ ।

निस्कोट गाउँदेखि करीब २० मिनेट उकालो हिँडेपछि पुगिने बराहतालको पृष्ठभूमिमा धौलागिरि, गुर्जा, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे लगायत १० वटा हिमाल देख्न सकिन्छ । साठी मिटर लम्बाइ, ४० मिटर चौडाइ र सात मिटर गहिराइ भएको तालमा हिमालको छायाँ निकै मनमोहक देखिन्छ ।

बराह तालको संरक्षण, प्रचारप्रसार र पूर्वाधार विकास गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पहल गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

पदमार्ग निर्माण कार्यलाई पूर्णतासंगै तालमा सधैँभरि पानी भरिभराउ बनाउने र घेराबार गर्ने योजना बनाइएको छ । तालको महत्वका बारेमा प्रचारप्रसार गर्न उत्सवको आयोजना गर्ने योजना बनाइएको वडाध्यक्ष पुनले बताए ।
रासस

प्रकाशित मिति : १५ बैशाख २०७५, शनिबार ००:००