७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

निर्वाचन लक्षित गरी सुरक्षा व्यवस्था मजबुद



चितवन, ३० चैत । स्थानीय तहको निर्वाचनका लागि जिल्लामा सुरक्षा व्यवस्था मजबुद बनाउँदै लगिएको छ । स्थानीय सुरक्षा समितिको दैनिक बैठक बसी सुरक्षा संवेदनशीलता अध्ययन गरी रणनीति बनाइएको हो ।

प्रजिअ नारायणप्रसाद भट्टका अनुसार मतदान केन्द्र तोकिएका एक सय ६१ वटा ठाउँलाई अतिसंवेदनशील, संवेदनशील र सामान्य भनी वर्गीकरण गरिएको छ । भौगोलिक हिसाबले माडी नगरपालिका र इच्छाकामना गाउँपालिकालाई अतिसंवेदनशील क्षेत्रका रुपमा लिएर सुरक्षा योजना बनाइएको छ ।

निर्वाचन केन्द्रित पूर्वतयारी, निर्वाचन समयको तयारी र निर्वाचन पछिको तयारी योजना, कार्यनीति र रणनीति तयार गरी अहिले पूर्वतयारीको काम भइरहेको प्रजिअ भट्टले जानकारी गराए ।

एकीकृत सुरक्षा योजना तयार गरी सुरक्षाको काम अगाडि बढाइएको छ । निर्वाचनस्थलकाे बाहिरी घेरामा नेपाली सेना, बीचमा सशस्त्र प्रहरी र भित्री घेरामा रहेर नेपाल प्रहरीले सुरक्षा दिँदैछ । जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार भित्री घेरामा आवश्यकता अनुसार राष्ट्रिय अनुसन्धानका प्रहरी पनि रहनेछन् । निर्वाचनका लागि एक हजार दुई सय ५५ जना म्यादी प्रहरी भर्ना गरी तालिम दिने काम भइरहेको उनले जानकारी दिए ।

प्रहरी कर्मचारीलाई दुई दिनकाे निर्वाचन अनुशिक्षण तालिम पनि भइरहेको छ । जिल्लामा रहेका एक महानगरपालिका, पाँच नगरपालिका र एक गाउँपालिकामा सशस्त्र प्रहरीको बेस क्याम्प राख्ने तयारी गरिँदैछ भने नेपाली सेनाको टुकडीसमेत राख्ने तय भएको छ । सशस्त्रको बेस क्याम्पमा ६० र नेपाली सेनाको टुकडीमा ३० जनाका दरले रहनेछन् ।

प्रहरी प्रमुख थापाका अनुसार राजनीतिक कार्यक्रममा सुरक्षा व्यवस्था मजबुद बनाउन जाँचमा कडाइ गरिएको छ । देशभर निर्वाचन सामग्री चितवन हुँदै जाने हुँदा त्यसलाई पनि सुरक्षा दिने प्रबन्ध मिलाइएको छ । मदिरा नियन्त्रण, फरार अभियुक्त पक्राउ लगायत सुरक्षा संवेदनशीलतामा विशेष ध्यान दिइएको थापाले बताए ।    रासस

प्रकाशित मिति : ३० चैत्र २०७३, बुधबार ००:००