९ बैशाख २०८१, आइतबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उदयपुरकाे नगरपालिकाहरूमा सम्भावित उम्मेद्धार छानिए



गाईघाट, उदयपुरको नगरपालिकाहरूमा स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको छ ।

दलहरूले जिल्लाका चार वटै नगरपालिकाको सम्भावित मेयर तथा उपमेयरको नाम छनोट गर्न थालेसँगै जिल्लाको चार नगरपालिकामा चुनावी सरगर्मी बढेको हो ।

त्रियुगा नगरपालिकामा कांग्रेसले मेयरको लागि सम्भावित उमेदवारको नाम छनोट गरेको छ । कांग्रेस उदयपुरका अनुसार त्रियुगा नगरपालिकाको सम्भावित मेयरमा क्षेत्र नम्बर २ का क्षेत्रीय अध्यक्ष वसन्त बस्नेत, त्रियुगा नगर समितिका अध्यक्ष सरोज बस्नेत, पूर्वपार्टी जिल्ला सभापति हिमाल कार्की र जिल्ला पार्टी सचिव भीमचन्द्र राईको नाम छनोट गरेको छ ।

यस्तै, उपमेयरमा कांग्रेसले महिला सङ्घका जिल्ला अध्यक्ष लीलाकुमारी राई, पार्टी जिल्ला समितिका सदस्य विमला राई, महासमितिका सदस्य ताराकुमारी राई, पार्टी सदस्य सुनिता चौधरी र सरिता राई (दाहाल) को नाम छनोट गरेको छ ।

एमालेले मेयरका लागि पार्टी जिल्ला सचिवालय सदस्य भागवत राउत, अर्का सचिवालय सदस्य प्रकाश बस्नेत छनोट गरेको छ । एमालेले उपमेयरको लागि पार्टी जिल्ला सदस्य महेश्वरी राई, सदस्य श्रृजना दनुवार र फूलकुमारी चौधरीको नाम छनोट गरेको छ ।

यस्तै, माओवादी केन्द्रले मेयरका लागि पार्टी जिल्ला सदस्य किरण राई, नारायण बुर्जा र मीनबहादुर ठकुरीको नाम छनोट गरेको छ । उपमेयरको लागि पार्टी जिल्ला सदस्य राधा खड्का, अजिता खड्का र सरिता कार्कीको नाम छनोट गरेको छ ।

अरू नगरपालिका

कटारी

कटारी नगरपालिकामा कांग्रेसले मेयरका लागि जिल्ला पार्टी सचिव रामकुमार राई, जिल्ला पार्टी कोषाध्यक्ष राजेशचन्द्र श्रेष्ठ र ज्ञानेन्द्र राउतको नाम छनोट गरेको छ । एमालेले पनि मेयरको लागि जिल्ला कमिटी सदस्य भीमकुमारी राउत, कृष्ण थापा र ज्ञानेन्द्रबहादुर कार्कीको नाम छनोट गरेको छ ।

माओवादी केन्द्रले मेयरका लागि पार्टी जिल्ला अध्यक्ष विनोद कटुवाल, पार्टीका केन्द्रीय सदस्य केपी बराल र कुमारसिंह राईको नाम छनोट गरेको छ । उपमेयरमा मीना कोइराला र मीना कार्की छानिएका छन् ।

चौदण्डी

चौदण्डी गढी नगरपालिकामा मेयरका लागि कांग्रेसले प्रशान्त राई, खगेन्द्र राई, प्रदीप केसी र वसन्त कटुवालको नाम छनोट गरेको छ ।एमालेले मेयरमा जिल्ला पार्टी सचिवालय सदस्य कालु लामा र राजेन्द्र कटुवालको नाम छनोट गरेको कुरा पार्टी स्रोतले बताएको छ ।

माओवादी केन्द्रले मेयरमा जिल्ला पूर्व पार्टी अध्यक्ष राजन किराँती, जिल्ला सदस्य सन्तोष सुवेदी र प्रकाश राईको नाम छनोट गरेको छ ।

बेलका

बेलका नगरपालिकामा कांग्रेसले मेयरमा बद्री सापकोटा, जय सुवेदी, लवराज अधिकारी र दिनेश चौधरीको नाम छनोट गरेको छ ।

यस्तै, एमालेबाट दुर्गाकुमार थापा र गणेश बस्नेत छानिएका छन् भने माओवादी केन्द्रबाट जिल्ला सचिवालय सदस्य रमण भट्टराई, मनोज तामाङ छनोटमा परेका छन् । रासस

प्रकाशित मिति : २९ चैत्र २०७३, मंगलबार ००:००