१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भक्तपुरमा वृहत औद्योगिक मेला शुरु



२३ चैत, भक्तपुर ।
नयाँवर्षको अवसरमा भक्तपुरमा वृहत औद्योगिक मेला आजबाट शुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले आयोजना गरेको “चौँथो भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७४/७५” को प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेले उद्घाटन गरेका छन् ।

भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको ९९ रोपनी चौरमा शुरु भएको ११ दिने मेला आगामी वैशाख ३ गते सम्पन्न हुनेछ । २०० भन्दा बढी स्टल रहेको मेलामा दैनिक जीवनमा प्रयोगमा आउने उपभोग्य सामग्री, खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला, भाँडाकुडा, पर्यटन प्रवर्द्धन गर्ने स्टल रहेको मेलाका संयोजक दीपक थापाले जानकारी दिए ।

त्यसैगरी मेलामा अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल, इलेक्ट्रोनिक्स सामानको स्टल रहेको छ भने मेलामा बिक्री गरिने सामानमा २५ प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको उनले जानकारी दिए ।

मेलामा आउनेका लागि डा इवामुरा मेमोरियल अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । करिब ५ लाख उपभोक्ताले मेलाको अवलोकन गर्ने र करिब १० देखि १२ करोड रुपैयाको कारोबार हुने अपेक्षा गरिएको मेला आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष संदिप महतले जानकारी दिए ।

मेलामा हरेक दिन विभिन्न ब्याण्ड प्रतियोगिता, डान्स प्रतियोगिता, तथा बि–बोईङ प्रतियोगिता गर्नुका साथै चर्चित गायकगायिकाको प्रस्तुति, चर्चित कलाकारको नृत्य लगायतका मनोरञ्जनात्मक प्रस्तुति रहेको आयोजक संस्था मध्यपुर ब्याइजब्याण्डका प्रमुख सुनिल बज्राचार्यले जानकारी दिए ।

मेलामा बाल उद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादु, सर्कस, ब्रेक, भूत चिडिया घर, बालबालिकाको खेल सामग्रीका साथै चार दर्जनभन्दा बढी राष्ट्रियस्तरका कलाकारको हास्यव्यंग्य सहितका मनोरञ्जनात्मक प्रस्तुति रहने छन् ।

मेलामा भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दा यसबाट लाभ लिनसक्ने मेलाका आयोजकले बताएका छन् ।
रासस

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार ००:००