१३ माघ २०८२, सोमबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चितवनको पहाडी क्षेत्र चिसापानीगढी चराको उत्कृष्ट वासस्थान



नारायण ढुङ्गाना
१२ चैत, रत्ननगर– चितवन ।
चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी अन्तर्राष्ट्रिय रुपमै चराको उत्कृष्ट वासस्थान रहेको भन्दै चरा विज्ञरुले सो क्षेत्रको संरक्षण गर्न सरकारसंग माग गरेका छन् ।

उक्त क्षेत्र चराका दृष्टिले विश्वकै नमूना रहेको भन्दै चराविद् डा हेमसागर बरालले वर्षौँसम्म नदेखिएका चरा समेत सो क्षेत्रमा पाइएको बताए । “सरकारले अन्तर्राष्ट्रिय क्षेत्रमै महत्वपूर्ण मानिने चिसापानीगढीको संरक्षण गर्नु जरुरी छ” डा बरालले भने ।

चितवनको पहाडी क्षेत्रमा पर्ने चिसापानीगढी यहाँको महत्वपूर्ण पर्यटकीय क्षेत्र सिंराइचुली र उपरदाङगढीको बीचमा पर्छ । नेपालमा पाइने चरामध्ये गढीमा भेटिने ३८ प्रजातिका चरा विश्वकै महत्वपूर्ण र संरक्षित चरा मानिने जानकारी दिंदै उनले अहिले सो क्षेत्रलाई ‘महत्वपूर्ण चरा क्षेत्र’ घोषणा गर्नुपर्ने माग चरा विज्ञहरुले गर्दै आएको बताउछन् ।

वर्ड एजुकेशन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष तथा पक्षीविद् वासु बिँडारीले कहीँ नदेखिएका चरा देखिने सम्भावित क्षेत्र चिसापानीगढी रहेको बताए । काठमाडौंको फुलचोकीमा पाइने चरासमेत यहाँ भेटिन्छन् । करीव ७० वर्षसम्म हराएको सिम्रिककाने लियो सिचला भन्ने चरासमेत यहाँ भेटिएको छ । त्यसैले सो क्षेत्रमा चराको हव बनाउनुपर्ने बिँडारीको भनाइ थियो ।

यस्तै नेपालमा मात्रै पाइने काँडे भ्याकुरका विभिन्न प्रजातिको समेत महत्वपूर्ण वासस्थान यही क्षेत्रमा छ । मुख्यगरी पानीको पर्याप्तता र घना जंगल एवं शान्त वातावरणका कारण यहाँ चराको महत्वपूर्ण वासस्थान बनेको हो । चरा पर्यटनका हिसाबले समेत महत्वपूर्ण भएकाले यहाँ राम्ररी अनुगमन गर्ने हो भने अझ धेरै नयाँ प्रजातिका चरा पाइने दाबी उनको थियो ।

यो क्षेत्रमा रुख काट्ने, खन्ने, डढेलो लगाउने, जथाभावी भौतिक संरचना, सडक निर्माण गर्नेजस्ता गतिविधि रोक्न समेत चरा संरक्षणकर्मीले माग गरेका छन् । गढीकै फेदीमा पर्ने चितवनको कोलारमा रहेको चुनाखानीले चरालाई असर गर्ने भन्दै उनीहरुले खानी रोक्न समेत माग गरेका छन् । चितवनका अर्का चरा विज्ञ टीका गिरी चराको वासस्थानका दृष्टिले अति नै महत्वपूर्ण रहेको चिसापानीटार क्षेत्रलाई जोगाउनु सबैको कर्तव्य भएको उल्लेख गरे ।

नेपालमा ८८७ प्रजातिका चरामध्ये १६८ प्रजातिका चरा संकटापन्न अवस्थाका छन् । चितवनमा मात्रै ६३६ प्रजातिका चरा पाइन्छन् । त्यसमध्ये करीव ३५० प्रजातिका चरा सो क्षेत्रमा पाइन्छ । विश्वमा ११ हजार प्रजातिका चरा रहेको तथ्यांक छ ।
रासस

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार ००:००