९ चैत, नुवाकोट ।
दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीका वडाध्यक्ष सुनबहादुर तामाङलाई मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै जिल्ला अदालतले ३७ वर्ष छ महिना कैद सजाय र २ लाख ५० हजार जरिवानाको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश लोकजङ्ग शाहको एकल इजलाशले वडाध्यक्ष तामाङसहित तीन जनालाई कैदका साथै जरिवानाको फैसला गरेको हो ।
तामाङ सहित उनका सहयोगीहरु सोही स्थानका शुकमान लामालाई ३२ वर्ष तीन महिना २३ दिन कैद र टीकाराम तामाङलाई ३० वर्ष कैदसहित जनही २ लाख ५० हजार जरिवानाको फैसला भएको अदालतका स्रेस्तेदार महिमानसिंह विष्टले जानकारी दिए ।
भारतमा बेचिएका युवतीले घर फर्किएपछि सामाजिक संस्थाको सहयोगमा तीनैजना विरुद्ध २०७२ कात्तिक १८ गते मानव बेचबिखन तथा ओसारपसार विरुद्ध अदालतमा मुद्दा दर्ता गरेका थिए । नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले गत पुस ७ गते पक्राउ गरी मानव बेचबिखनको मुद्दा काठमाडौं जिल्ला अदालतमा समेत दायर गरेको थियो ।
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको मुद्दाका आरोपित अवतार तामाङ, पासाङ तामाङ र राधा तामाङको मुद्दा भने मुल्तवीमा राखिएको छ । उनीहरु हाल फरार छन् ।
रासस
प्रतिक्रिया