१० श्रावण २०८१, बिहिबार | Thu Jul 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेनी–दरवाङ सडक स्तरोन्नतिः बेनी–चुत्रेनी खण्डमा बैकल्पिक सडक प्रयोग गरिने



६ चैत, बबियाचौर– म्याग्दी ।
म्याग्दीको बेनी–दरवाङ सडक स्तरोन्नतिका लागि बेनीदेखि चुत्रेनी खण्डमा वैकल्पिक सडक प्रयोगमा ल्याइने भएको छ ।

दिउँसोको समयमा सवारी सञ्चालनसंगै सडक फराकिलो बनाउने काम गर्दा जोखिम र काम प्रभावित बनेपछि प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा सडक डिभिजन कार्यालय, यातायात व्यवसायी र निर्माण कम्पनीका प्रतिनिधि तथा सरोकारवालाको सोमबार बसेको बैठकले मंगलबारदेखि नै बेनीदेखि चुत्रेनी खण्डको सडक दिउँसो बन्द गरेर निर्माणको काम गर्ने निर्णय भएको हो ।

हाल प्रयोग भइरहेको सडक दिउँसोको समयमा बन्द गरेर मंगलाघाट, डम्मरा हुँदै चुत्रेनी जोड्ने वैकल्पिक सडकबाट बेनी दरवाङ सडकमा आवतजावत गर्ने सवारी साधन सञ्चालन गरिने प्रजिअ अधिकारीले बताउनुभयो ।

मंगला, मालिका र धौलागिरि गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने बेनी–दरवाङ सडक कालोपत्रेका लागि सञ्चालित आयोजनाको काम सुस्त बनेपछि निर्माण व्यवसायीको मागअनुसार सवारी साधन रोकेर काम गर्ने वातावरण मिलाइएको छ ।

चौध किलोमिटर सडक स्तरोन्नति गरी कालोपत्रे गर्न गत साउनमा सडक डिभिजन कार्यालय र ठेकेदार कंपनी लामा समानान्तर जेभीबीच करिब ४४ करोडमा ठेक्का सम्झौता भएको थियो ।

हालसम्म प्राविधिक, व्यवस्थापकीय र निर्माण सामग्री जुटाउन तयारी गरिएको बताउँदै निर्माण कम्पनीका इञ्जिनियर सुधन राउतले मजदूर र उपकरणको संख्या बढाएर कामलाई तीव्रता दिन लागिएको जानकारी दिए ।

एघार मिटर फराकिलो हुने सडकको सात मिटर चौडाइमा कालोपत्रे गरिने भएको छ । पहिलो चरणमा बेनीदेखि बाबियाचौरसम्मको सडक कालोपत्रे हुनेछ भने त्यहाँदेखि दरवाङसम्मको कालोपत्रेका लागि अर्को चरणमा गर्ने कार्यालयको तयारी छ ।

सडक कालोपत्रे भएपछि हाल साढे दुई घण्टा लाग्ने यात्रा अवधि छोटिएर ३० मिनेटमा पूरा गर्न सकिने ढुवानी भाडा पनि घट्ने भएको छ ।
रासस

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलबार ००:००