१ चैत, त्रिशूली– नुवाकोट ।
सहकारी संस्थालाई स्थानीय तहमा हस्तान्तरण गर्न आरम्भ गरिएको छ । सहकारी डिभिजन कार्यालय नुवाकोटले किस्पाङ गाउँपालिकालाई सहकारी संस्था अभिलेख हस्तान्तरण गरी प्रक्रिया अगाडि बढाएको हो ।
सदरमुकाम विदुरमा आयोजित स्थानीय तहका पदाधिकारी र अधिकृतका लागि सहकारी संघसंस्था सम्बन्धी अभिमुखीकरण कार्यक्रममा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव गोपीनाथ मैनालीले हस्तान्तरण आरम्भ गर्दै अबका दिन सहकारी दर्ता, नियमन र अनुगमनका साथै प्रवर्द्धनका कामसमेत स्थानीय तहबाटै हुने र मन्त्रालयले तयार पारेको सहकारी र गरिबी व्यवस्थापन सूचना प्रणालीको सफ्टवेयरमा संस्थाका सम्पूर्ण तथ्यांक समावेश भएपछि स्थानीय तहमा पूर्ण रुपमा हस्तान्तरण हुने जानकारी दिए ।
जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले अबमा दिनमा स्थानीय तहका लागि सहकारी सबल बनाउन र अनुगमन प्रभावकारी बनाउने चुनौती आएको बताए ।
नुवाकोटमा कुल ३६८ सहकारी संस्था छन् । जिल्लामा सबैभन्दा धेरै सहकारी विदुर नगरपालिकामा ११० वटा तथा सबैभन्दा कम किस्पाङ गाउँपालिकामा १२ छन् । सहकारी डिभिजन कार्यालयका अनुसार नगरपालिकामा बेलकोटगढीमा ५० तथा गाउँपालिका तारकेश्वरमा १८, मेघाङमा १४, लिखुमा ११, दुप्चेश्वरमा १८ , शिवपुरीमा १४, सूर्यगढीमा २४, तादीमा २७ र ककनी गाउँपालिकामा ४२ सहकारी संस्था छन् ।
जिल्लामा जिल्ला सहकारी संघ, नुवाकोट बचत तथा ऋण सहकारी संघ, उपभोक्ता सहकारी संघ, दुग्ध उत्पादक सहकारी संघ र कफी सहकारी संघ पनि छन् ।
कार्यक्रममा जिल्लाका १२ वटै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृतलाई सहकारीको अवधारणा र सहकारी ऐन २०७४ का व्यवस्थाका बारेमा जानकारी गराइएको डिभिजन सहकारी कार्यालयका प्रमुख शंकर पाठकले जानकारी दिए ।
रासस
प्रतिक्रिया