६ श्रावण २०८१, आइतबार | Sun Jul 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोल्पाको विकास निर्माणमा सघाउँदै नेपाली सेना



उमा केसी
२३ फागुन, रोल्पा ।
जनतासंगको सम्बन्धलाई प्रगाढ बनाउने उद्देश्यका साथ नेपाली सेनाले रोल्पा जिल्लाका विभिन्न स्थानमा स्थानीयवासी संगको सहकार्यमा विकास निर्माणका कामलाई निरन्तरता दिएको छ ।

सदरमुकामनजिक रहेर पनि जीर्ण संरचनामा विद्यालय सञ्चालन गर्न बाध्य तारा माध्यमिक विद्यालयमा नेपाली सेनाले सुविधायुक्त शौचालय निर्माण कार्य गरिरहेको छ । विद्यार्थीलाई सामूहिक रुपमा हातधुने सुविधा सहितको अपांगमैत्री शौचालय निर्माण गरिरहेको नेपाली सेनाको खड्क दल गणले जानकारी दिएको छ ।

विद्यालयमा रहेका शौचालय पुराना हुनाका साथै विद्यार्थीको चापअनुसार पर्याप्त समेत नभएकाले निर्माणका लागि सेनासंग गरिएको अनुरोधका आधारमा सुविधायुक्त शौचालय निर्माण भइरहेको तारा मावि वामरुकका प्रधानाध्यापक ओवीलाल महराले बताए ।

शौचालय निर्माण संगै विद्यालयका ४८० विद्यार्थी र १५ जना शिक्षकलाई सुविधा पुग्ने महराले बताए । सेनाको सहयोगले विद्यालय सरसफाइमा महत्वपूर्ण सहयोग पुग्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरबहादुर कँवरले आशा व्यक्त गरे ।

यसपूर्व निर्माण गरिएका शौचालयमा पानीको सुविधा नहुनाका साथै अपांगमैत्री समेत नभएकामा सेनाको सहयोगमा निर्माण गरिएका शौचालयमा सुविधायुक्त रहेको कँवरले बताए । “विद्यालय सुधारका लागि आगामी दिनमा समेत सेनाको सहयोगको अपेक्षा गरेका छौँ,” कँवरले भने ।

उता रोल्पा नगरपालिकाकै खुमेलमा खड्ग दल गणका गणपति अजय गुरुङको व्यक्तिगत लगानीमा ‘समाज घर’ निर्माण कार्य भइरहेको छ । सामाजिक काम गर्दा रूखमुनि बस्न बाध्य भएको भन्दै समाज घर निर्माणका लागि नेपाली सेनालाई अनुरोध गरेकाले जनताको श्रमदान र गणपतिको आर्थिक सहयोगमा सो घर निर्माण भइरहेको बताइएको छ । जनता घर निर्माण सँगै महिला समूहको बैठक, प्रौढ कक्षा सञ्चालन लगायतका सामाजिक काममा सहज हुने स्थानीयवासीले बताएका छन् ।

यसपूर्व नेपाली सेनाको खड्क दल गण, रोल्पाले आफ्नै लगानीमा विद्यालय भवन, सडक निर्माण, खेलमैदान निर्माण लगायतका काम गरिसकेको थियो । विकासमा पछाडि परेको उत्तरी रोल्पाको विकास गतिविधिलाई प्राथमिकता दिएको सेनाले जनताको मागको आधारमा जिल्लाका अन्य स्थानमा समेत सहयोग गरिरहेको बताइएको छ ।

२५ वर्षअघि निर्माण आरम्भ गरिए पनि सम्पन्न हुन नसकेको सुलिचौर–थवाङ सडकको सिरक्याङ भिर नेपाली सेनाद्वारा फोडिए संगै यसै वर्षदेखि सवारी साधन आवतजावत गर्न थालेका छन् । कडा चट्टान र भिरालो जमिनका कारण सडक निर्माण कार्य अवरुद्ध हुँदै आएकोमा नेपाली सेनाले निर्माणको जिम्मा लिएसंगै सो कार्य यसै वर्ष सम्पन्न भएको हो ।

उता समुदायकै लगानीमा नमूना विद्यालय अभियान सञ्चालन गरेको वीर बलभद्र मावि थवाङमा भवन नहुँदा विद्याथी चौरमा पढ्न बाध्य हुँदै आएकामा नेपाली सेनाकै सहयोगमा विद्यालय भवन निर्माण भएको थियो । विशेषज्ञ डाक्टरको उपस्थितिमा रोल्पाको थवाङमै नेपाली सेनाले स्वास्थ्य शिविरसमेत सञ्चालन गरेको थियो ।

होलेरी–थवाङ शहीद मार्गअन्तर्गत दुईखोली सडकखण्डको पहरा काट्ने कामसमेत नेपाली सेनाको सहयोगमा यसै वर्ष सम्पन्न भएको थियो । जनताको मागका आधारमा जिल्लाका विभिन्न स्थानमा विकास निर्माणका काममा सहयोग हुँदै आएको खड्ग दल गणका गणपति अजय गुरुङले बताए ।

“जनतासँग सहकार्य गरेर काम गरिरहेका छौँ,” गुरुङले भने । जनताको श्रमदान एवं आफूहरुको मानवीय र आर्थिक सहयोगमा विकास निर्माणका काम भइरहेको नेपाली सेनाको खड्ग दल गणले बताएको छ ।
रासस

प्रकाशित मिति : २३ फाल्गुन २०७४, बुधबार ००:००