२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सडक पूर्वाधारसँगै विकासको बाटो खोतल्दै मादी गाउँपालिका



वासुदेव पौडेल
१६ फागुन, पोखरा ।
नयाँ संघीय संरचना अनुसार नवनिर्वाचित जनप्रतिनिधिले यतिखेर गाउँपालिकाको सेवा केन्द्रसंग जोड्न सडकको स्तरोन्नतिलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।

आवश्यक पूर्वाधार बिना नै ठूलो क्षेत्रफल समेट्ने गरी बनाइएका संरचनाका कारण सर्वसाधारणले प्राप्त गर्ने सेवा प्रवाहलाई सहज बनाउन गाउँपालिकाका जनप्रतिनिधिले सडकको स्तरोन्नतिलाई उच्च प्राथमिकतामा पारेका हुन् ।

गाउँपालिकाको समृद्धि र विकासका लागि गाउँपालिकाको सेवा केन्द्रसम्म सडक सञ्जालमार्फत जोडिनु अपरिहार्य भएकाले निर्वाचित भएसँगै सडक सञ्जालको स्तरोन्नति एवं विस्तारलाई आफूले प्राथमिकतामा राखेको गाउँपालिकाका प्रमुख बेदबहादुर गुरुङले बताए ।

“जनतालाई सहजरुपमा आवतजावत गराउनुका साथै विकासका मार्ग खोल्न सडक सञ्जाल जोडिनु अपरिहार्य छ,” उनले भने, “सडकको आवश्यकतालाई दृष्टिगत गरी गाउँपालिकाले चालू आर्थिक वर्षमा यसको स्तरोन्नति र विकासका लागि ६ करोड १० लाख विनियोजन गरिएको छ ।”

उनका अनुसार चालू आवमा पोखराबाट भैंसे हुँदै याङजाकोट जाने बाटोको स्तरोन्नतिका लागि १ करोड विनियोजन गरिएको छ । त्यस्तै पोखरा–सिक्लेस र राखी–मिजुरे सडकका लागि १–१ करोड विनियोजन गरिएको छ भने पोखरा–ताङतिङ र भगवतीटार–हाँडीखोला सडककका लागि ५०–५० लाख विनियोजन गरिएको छ ।

चालू आवका लागि भगवतीटार–सैमराङ र थुम्सीकोट–भाचोकका लागि ४०–४० लाख विनियोजन गरिएको छ । गाउँपालिकाभित्र अझै पनि धेरै ठाउँमा सडक सञ्जाल नजोडिएका कारण विभिन्न १२ वटाभन्दा बढी प्रत्येक सडकका लागि १०–१० लाख विनियोजन गरी नयाँ ट्रयाक खोल्ने तयारी गरिएको अध्यक्ष गुरुङले बताए ।

“सडक सञ्जालको विस्तारका साथै यस क्षेत्रको पर्यटककीय विकासका लागि गाउँपालिकाले गुरुयोजना तयार पार्ने काम अघि बढाउने भएको छ,” उनले भने, “शिक्षा स्वास्थ्यका साथै अन्य सामाजिक विकाससंग सरोकार राख्ने क्षेत्रका लागि पनि प्राथमिकता दिएर अघि बढेका छौँ ।”

पर्यटकीय स्थल र जलस्रोत यस गाउँपालिकाको समृद्धि र विकासका लागि महत्वपूर्ण माध्यम भएको छ । सिक्लेस, ताङतिङ, याङजाकोट, नागिधार, वारचोक, भाचोक, तप्राङलगायत गाउँ यहाँका पर्यटक लोभ्याउने गाउँ हुन् भने तमुहरूको उद्गमस्थल क्होलासोंथर, दूधपोखरी जस्ता स्थल यही गाउँपालिकामा पर्दछन् ।

पदयात्रा पर्यटनका क्षेत्रमा पनि सिक्लेसदेखि मनाङसम्म र लमजुङ, नागिधार, भाचोक, वारचोक, याङजाकोट, ताङतिङदेखि सिक्लेससम्मको पदयात्रा मार्ग यहाँको अर्को महत्वपूर्ण पर्यटकीय आकर्षण हो । विश्वकै सबैभन्दा होचो स्थानमा रहेको कफुचे हिमताल यही गाउँपालिकामा पर्दछ ।

गाउँपालिकाको पर्यटकीय सम्भावनालाई दृष्टिगत गरी गुरुयोजना तयार गर्न लागिएको बताउँदै अध्यक्ष गुरुङले हालका लागि पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमका लागि १० लाख विनियोजन गरेको बताए ।

मादीका सबै वडा भएर बग्ने मादी नदी जलविद्युत् उत्पादनका दृष्टिले महत्वपूर्ण नदी भएका कारण यसको कसरी भरपुर उपयोग गर्न सकिन्छ भन्नेतर्फ आफूहरू केन्द्रित बनेको गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया आचार्य पौडेल ले बताइन् ।

गाउँपालिको समग्र विकासका लागि चालू आवमा ३७ करोड ९१ लाख विनियोजन गरी त्यसलाई विभिन्न शीर्षकमा छुट्याइएको र घरवास पर्यटनको विकास पनि गाउँपालिकाको प्राथमिकतामा परेको उनले जानकारी दिइन् ।

पर्यावरणीय दृष्टिले पनि मादी गाउँपालिका महत्वपूर्ण स्थल भएको स्थानीय युवा एवं सिक्लेस युवा क्लबका सल्लाहकार देवीजंग गुरुङले बताए । “पर्यटन, जलस्रोतका साथै यहाँका प्राकृतिक साधन स्रोत आर्थिक समृद्धि र विकासका आधार हुन्,” उनले भने, “यस क्षेत्रका जंगलमा पाइने दुर्लभ पाँचऔँले, नीरमसी, सतुवा, वन लसुन जस्ता जडीबुटीका साथै टुसाको उपयोग पनि आयआर्जनको महत्वपूर्ण माध्यम बन्ने देखिन्छ ।”
रासस

प्रकाशित मिति : १६ फाल्गुन २०७४, बुधबार ००:००