५ श्रावण २०८१, शनिबार | Sat Jul 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अस्तव्यस्त बन्दै बिर्तामोड



सुरेन्द्र भण्डारी
१५ फागुन, सुरुङ्गा– झापा ।
मेची अञ्चलको प्रमुख व्यापारिक केन्द्रका रुपमा रहेको झापाको बिर्तामोड नगरपालिका अस्तव्यस्त बन्दै गएको छ । बसाइँ सराइको दर उच्च रहेको बिर्तामोडमा विकास निर्माणका काम अलपत्र भएकाले अस्तव्यस्त बनेको हो ।

यहाँको सडकलाई फराकिलो बनाउन केही समयअघि नगरपालिका र सडक डिभिजन कार्यालयले बिर्तामोड–भद्रपुर सडकखण्डका भौतिक संरचना हटाएका थिए । त्यस्तै पूर्व–पश्चिम राजमार्गको अतिक्रमित संरचना हटाउनाका साथै सडक किनारका रुख ढालेपछि अहिले बिर्तामोडलाई धुलोले छोपेको छ ।

सवारी साधनको चाप बढेसँगै त्यसलाई व्यवस्थापन गर्न पूर्व–पश्चिम राजमार्ग अन्तर्गत अन्धुवा खोलाको दायाँ–बायाँ पक्की पुल निर्माण शुरु गरिए पनि ठेकेदारले बीचैमा काम छाड्दा दुर्घटनाको जोखिम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै आएका जनप्रतिनिधिले विकास निर्माणलाई प्राथमिकता दिने आश देखाएपनि अहिलो सबै काम अलपत्र हुँदा जनता निराश बन्दै गएका छन् । उनीहरुले जनप्रतिनिधिले विकासको कामलाई अगाडि नबढाउँदा बिर्तामोडमा धुलोजन्य रोगको जोखिम बढेको, दुर्घटनाको जोखिम उच्च भएको तथा वर्षायाममा बिर्तामोड डुब्ने सम्भावना प्रबल रहेको भन्दै यसको जिम्मेवारी जनप्रतिनिधिले लिनुपर्नेमा जोड दिएका छन् ।

बिर्तामोड नगरपालिका १ का ईश्वर खनालले धुलोका कारण आँखाका बिरामी बढ्दै गएको गुनासो गर्दै हावा चल्ने समय भएकाले पैदलयात्रीलाई समेत धुलोका कारण हिँडडुल गर्न समस्या भएको बताए । सडक विस्तार हुने भयो भनेर उत्साहित स्थानीय बासिन्दाले अहिले जनप्रतिनिधिप्रति आक्रोश व्यक्त गर्न थालेका छन् ।

सडकको भूभाग ८२ फिट ‘क्लियर’ गर्ने भन्दै नगरपालिकाले खाली गरेको फुटपाथमा पुनः व्यवसाय सञ्चालन हुन थालेपछि पैदलयात्रीलाई समस्या भएको स्थानीय राजकुमार राईले बताए । उनले भने, “सडकका किनारमा व्यापारी, सडकमा सवारीको जाम, पैदलयात्रीले कहाँबाट हिँड्नु रु”

यता जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश राईले पुल निर्माणको जिम्मा लिएको ठेकेदारले ढाँटेको आरोप लगाए । उनले भने, “पुल निर्माणको जिम्मा लिएर बीचैमा काम छाड्दा दुर्घटनाको जोखिम बढेको छ ।”

यसैबीच बिर्तामोड–भद्रपुर सडकखण्ड ठेक्का लगाउने प्रक्रिया शुरु भएको बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले बताए । भौतिक संरचना नहटाए सम्म सडक ठेक्का नलिने भएपछि ठेक्का लाग्नुअघि नै संरचना हटाउनुपर्ने बाध्यताका कारण अहिले धुलो उडेको उनको भनाइ थियो । ठेक्का प्रक्रिया शुरु भएपछि बाटो विस्तारका साथै कालोपत्र गर्ने काम शुरु हुने भन्दै केही समय धैर्य गरिदिन उनले बिर्तामोडवासीलाई आग्रह गरे ।

वर्षायाम शुरु हुनुअगावै काम शुरुका लागि ठेक्का लगाउने उद्देश्यले काम भइरहेको छ नगर प्रमुख शिवाकोटीले भने । बिर्तामोडमा भएका भौतिक संरचना तथा निर्माणाधीन संरचनाको अनुगमन गर्ने भन्दै अन्धुवा खोलामा निर्माण शुरु गरिएको पुलको काम तत्काल थाल्न ठेकेदारलाई निर्देशन दिएको उनले बताए ।

व्यापारिक दृष्टिकोणले अत्यन्त व्यस्त शहरका रुपमा रहेको बिर्तामोडमा सार्वजनिक शौचालय समेत नहुँदा सर्वसाधारणलाई शौच गर्न समेत समस्या पर्ने गरेको छ । नगरपालिकाले बिर्तामोड क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्नेतर्फ ध्यान नदिएको आरोप स्थानीय वासीले लगाएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघले नगरपालिकालाई हस्तान्तरण गरेको घुम्ती शौचालयलाई व्यवस्थित गर्नेमा समेत नगरपालिकाले चासो नदिएको उनीहरूको भनाइ छ ।

तीन दिनभित्र अन्धुवा खोलामा निर्माण शुरु गरिएको पुलको काम थाल्ने बताएका ठेकेदारले पुनः मंगलबार सम्मको भाका अघि सारेका छन् । ठेकेदार गणेश भट्टराईले सोमबारभित्र दिल्लीबाट सामान लिएर काँकडभिट्टा आउने र मंगलबारबाट काम शुरु गर्ने बताएका थिए । पुल निर्माणको विषयमा गम्भीर नदेखिएका ठेकेदारले सडक किनारमा राखिएको माटो लगायतका संरचनाका कारण दुर्घटनाको जोखिम बढ्दै गएको छ ।
रासस

प्रकाशित मिति : १५ फाल्गुन २०७४, मंगलबार ००:००